गृहसचिव राईको विदाइ आइतबार, चल्न थाल्यो सचिवहरुको दौडधुप
काठमाडौँ : गृहसचिव प्रेम कुमार राईले आगामी माघ २२ गतेबाट नियमित अवकाश पाउने भएका छन् ।
माघ २२ गतेबाट नियमित अवकाशमा जाने भएपछि राई माघ १९ गते आइतबारदेखि नै विदा बस्ने भएका छन् ।
गृहसचिव राईले आइतबारदेखि लागू हुने गरी आफ्नो राजीनामा पत्र मुख्यसचिव लोकदर्शन रेग्मीलाई बुझाइसकेका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार गृहसचिव राईको आइतबार ३ बजे मन्त्रालयमा विदाई कार्यक्रम राखिएको छ ।
२०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका राईले अवकाश हुने २ दिनअगावै राजीनामा बुझाएका हुन् । गृह मन्त्रालयमा लामो समय काम गरेका राई निर्विवाद अवकाश भएका हुन् ।
राईसँगै अर्थ मन्त्रालयका सचिव राजन खनाल तथा सचिवहरू गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि माघ २२ गते अवकाश पाउँदैछन् ।
राईको अवकाशसँगै आकर्षक पदको रुपमा लिइएको गृहसचिव बन्न यतिबेला सचिवहरुको दौडधुप चलेको छ ।
स्रोतका अनुसार सचिव महेश्वर न्यौपाने, केदारबहादुर अधिकारी र सूर्यप्रसाद गौतम र यादव कोइरालाको समेत गृहसचिवको लागि दौडधूप छ ।