Logo
२९ कार्तिक २०८१, बिहीबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको एम्नेस्टी इन्टरनेसनलको ठहर

नेपालमा अझै पनि मानवअधिकारको अवस्था सन्तोषजनक बन्न नसकेको एम्नेस्टी इन्टरनेसनल नेपालले जनाएको छ ।

एसिया प्यासिफिक क्षेत्रमा बिहीबार मानवअधिकारको अवस्था २०१९ विषयक प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टीले नेपालमा मावनअधिकारको अवस्था सन्तोषजनक नरहेको जनाएको हो । सरकारले संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न नसकेको, अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने खालका कानुन ल्याएको बताउँदै एमनेस्टीले नेपालमा मानवअधिकारको अवस्था सुधार हुन नसकेको जनाएको छ ।

मानवअधिकारवादीहरूमाथि नियन्त्रण गर्न खोजेको, संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गर्न सरकारले अलमल गरेको एमनेस्टीले जनाएको छ । एमेनेस्टी नेपालका निर्देशक नीराजन थपलियाले नेपालमा खाद्य अधिकार, अवास अधिकारका विषयमा प्रगति भएपनि लक्ष्यअनुसार अगाडि बढ्न नसकिएको बताए ।

सरकारले अभिव्यक्ति स्वतन्त्रताको संकुचित गर्नेगरी मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक ल्याएको, नागरिक संस्था दर्तासम्बन्धी कानुन बनाएको उनले बताए । सामाजिक सञ्जालमा लेख्ने, कमेन्ट गर्ने, चलचित्रको समीक्षा गर्नेहरूलाई गिरफ्तार गरी यातना दिने काम सन् २०१९ मा भएको पाइएको उनले बताए ।

एनजीओहरूमाथि अनावश्यक निगरानी गर्ने गरी कानुन बनाउनु, लाल आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगर्नु, शान्ति सम्झौतापछि गठन भएको आयोगहरूबाट द्वन्द्वकालीन मुद्दाहरू समाधान गर्न नसकेको उनले बताए । आयोग गठन भएको १३ वर्ष भए पनि पीडितहरूले न्याय नपाएको, उनीहरूलाई परिपूरणको व्यवस्था हुन नसकेको र आयोगहरूमा समेत राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरेको पाइएको उनले बताए ।

यातना र अन्य दुर्व्यवहारका घटनामा कमी आए पनि सम्पूर्ण रूपमा बन्द गर्न नसकिएको उनले बताए । यातनाका कारण प्रहरी हिरासतमा मृत्यु भएको घटनाहरूको अनुसन्धान नहुनु गम्भीर रहेको उनले बताए । गैरन्यायिक हत्याका घटनामा पनि कमि आउन नसकेको प्रतिवेदनले औंल्याएको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता भनिएका केही व्यक्तिहरूलाई पक्राउ गरी हत्या गरिएको, मधेस आन्दोलनपछि मधेसी समुदायका सदस्यहरूमाथि गरिएका घटनाहरूको अनुसन्धान विश्वसनीय हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । महिला अधिकारका सन्दर्भमा अझै पनि विभेद जारी रहेको खास गरी छुवाछूतको विभेद अन्त्य हुन नसकेको प्रतिवेदनले देखाएको छ । कानुनमा छाउपडीलाई अपराधीकरण गरिएको भए पनि अहिले पनि धेरै जिल्लाहरूमा यो व्यापक रूपमा रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्