Logo
३ आश्विन २०८१, बिहीबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी मुुद्राको सञ्चितिमा सुधार, १० खर्ब ८८ अर्ब विदेशी विनिमय सञ्चिति

विदेशी मुुद्राको सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पाँच महिनाको प्रतिवेदनअनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति चार दशमलव आठ प्रतिशतले बढेर २०७६ मंसिर मसान्तमा १० खर्ब ८८ अर्ब ३१ करोड रुपैयाँ पुुगेको छ ।

राष्ट्र बैंकका अनुुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ मंसिर मसान्तमा नौ अर्ब ६३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब दुुई अर्ब ४४ करोड रहेकोमा २०७६ मंसिर मसान्तमा नौ खर्ब ४६ अर्ब २९ करोड रुपैयाँ पुुगेको छ ।

नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ मंसिर मसान्तमा एक खर्ब ४२ अर्ब ३ करोड पुगेको छ । २०७६ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव पाँच प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिना पाँच दिनको वस्तु आयात र आठ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, अनुमानित वार्षिक आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३१ दशमलव चार प्रतिशत, ६९ दशमलव चार प्रतिशत र २९ दशमलव तीन प्रतिशत रहेका छन्  । राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्