९ महीनामा वैदेशिक रोजगारमा केके प्रणालीगत सुधार भयो ? यसो भन्छन् महानिर्देशक भिष्म भुसाल
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कति छ भन्ने यकीन तथ्याङ्क हामीसँग छैन । सन् २००० को अप्रिल २९ देखि हालसम्म करिब ६३ लाख श्रम स्वीकृति जारी भएको छ । यसको अर्थ ६३ लाख नेपाली वैदेशिक रोजगारीमा छन् भन्ने होइन । एउटै व्यक्तिले पटकपटक लिएको श्रम स्वीकृतिको गणना छ यसमा ।
अर्कोतिर भिजिट भिषा बिजनेश भिषा विद्यार्थी भिषा आश्रित भिषा लगायतमा गएर काम गर्नेहरूको तथ्याङ्क यसमा समावेश छैन । रोजगारीमा भारत जानेको पनि तथ्याङ्क छैन हामीसँग । अहिले विदेशमा ४५ लाख नेपाली कार्यरत छन् भन्ने कुरा पनि तथ्याङ्क होइन मिथ्याङ्क मात्र हो ।
वैदेशिक रोजगार विभागले अध्यागमन विभागसँग डाटा शेयरिङ्ग र इन्टिग्रेसन गरेपछि अब कुनै व्यक्ति नेपालको अध्यागमनबाट जुनसुकै प्रयोजनका लागि बाहिर गए पनि आए पनि हामीसँग तथ्याङ्क हुनेछ। यसबाट कुनै व्यक्तिले हिजोका दिनमा कुन कुन भिषामा बाहिर गएको हो हेर्न र अपराध नियन्त्रण गर्न समेत सहयोग पुग्नेछ । अब बल्ल कति नेपाली भारत बाहेकका देशमा छन् भन्ने कुराको वास्तविक सूचना संकलन हुनेछ ।
अध्यागमनसँग सूचना प्रणालीको एकीकरण गर्न वैदेशिक रोजगार विभागले २०७६ असार २० गते नै प्राविधिक तयारी पुरा गरी अध्यागमन विभागलाई पत्राचार गरेको थियो । हिजो नेपाली पोर्टको शुभारम्भसँगै हामी जोडिएका छौं । अब वैदेशिक रोजगार विभागको श्रम डेस्कबाट हेरिने र परीक्षण गरिने कागजातहरू अध्यागमन विभागको नेपाली पोर्टबाटै परीक्षण गर्न सकिनेछ । प्रविधिको प्रयोगमा उत्साहपूर्वक अघि बढेर हामीले यो सम्भव बनाएका छौं ।
विभागले छोटो अवधिमै अनलाइन टोकन, श्रम स्वीकृतिको जानकारी मोबाइल मेसेजिङ्ग सेवाबाट प्रदान गर्ने, पुरानो कागजमा छापिने श्रम स्टीकरको साटो बारकोडमा आधारित श्रम स्वीकृतिको निस्सा श्रमिकको इमेलमै जाने व्यवस्था, अनलाइन कागजात प्रमाणीकरण, अनलाइन आवेदन प्रणाली, अनलाइन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी, अनलाइन पूर्व स्वीकृति, अनलाइन छनौट सूची प्रकाशन र अनलाइन अन्तिम श्रम स्वीकृतिको व्यवस्था गरिसकेको छ । साथै सबैभन्दा बढी डिजिटल सिग्नेचर प्रयोग गर्ने सरोकारवालाहरूको आबध्दता समेत विभागले नै सफल पारेको छ । अझै केही तयारीहरूले थप नतिजा ल्याउँदैछन् ।
यी सबै परिवर्तनको साक्षी सञ्चार जगत रह्यो । हामीले कुनै विशेष कार्यक्रममा विशेष अतिथि बोलाएर शुरू गरेनौं । यति धेरै सूचना प्रणालीहरूकव तयारी र प्रयोग यति छोटो समयमै गर्न सकिंदो रहेछ ।