अग्निप्रसाद सापकोटा निर्वाचित भएपछी कांग्रेस भन्छ “उहाँ पनि अर्को महरा बन्नेछन्”
प्रतिनिधि सभाको सभामुखमा नेकपाका सांसद अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । सापकोटा निर्वाचित भए लगत्तै कांग्रेसका नेताहरूले सापकोटाको हाल पनि महरा जस्तै हुने बताएका हुन् ।
आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।
तर, कांग्रेसलाई यो डर पनि छ कि सभामुखका रुपमा सापकोटा कतै अर्को महरा त बन्दैनन् ? सांस्कृतिक रुपमा हैन, संसदमा खेल्ने भूमिकाका हिसाबमा अर्को महरा हुने कांग्रेसको कथन रहेको छ ।
तत्कालीन माओवादीका नेता महरा सभामुख बन्दै गर्दा कांग्रेस निकै आशावादी थियो । एक नेताले भने महरा शान्ति प्रक्रियालाई बुझेको र सबैलाई मिलाएर लैजान सक्ने नेता भएको कांग्रेस नेताहरुको बुझाइ थियो । तर, महराको डेढवर्षे कार्यकालमा सभामुख र कांग्रेस पटक-पटक आमने-सामने भए ।
महरा सभाको अनुहार बन्न नसकेको र ओली सरकारको लाचार छाँया मात्र बनेको गम्भीर आरोप प्रतिपक्षले लगायो । अहिले तत्कालीन माओवादीका सापकोटा सभामुख बन्दा कांग्रेसको आशंका छ, सापकोटा पनि अर्को महरा त बन्ने होइनन् ? कांग्रेसको आशंका रहेको छ ।
हिजो महरा पनि प्रचण्डकै कोटामा सभामुख बनेका थिए, जसरी अहिले सापकोटा आएका छन् । झन् योपटक सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्रै (ओली र प्रचण्डबीच) ठूलै रस्साकस्सी चलेको थियो । त्यसैले सापकोटाले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले विश्वास जित्ने प्रयास गर्नेछन् र यसो गर्दा महराले झै संसदीय मर्यादा बिर्सेलान् कि भन्ने कांग्रेस नेताहरुमा डर छ ।
विगतमा महराले त्यसै गरेको कांग्रेस नेताहरु बताउँछन् । त्यसको ‘बलियो उदाहरण’ असार ३ गते प्रधानमन्त्री ओलीले सम्बोधन रोक्ने गरी कांग्रेस सांसदहरुले गरेको संसद अवरोधको घटनालाई लिने गरिएको छ ।
एक सांसद भन्छन्, ‘हिजो तत्कालीन सभामुख महराले प्रधानमन्त्रीलाई खुसी पार्न खोज्दा संसदको नियम, परम्परा तोड्नुभयो । प्रधानमन्त्रीको पनि विश्वास जित्न सक्नुभएन । अहिले पनि हामीलाई डर छ कि फेरि त्यही अवस्था त दोहोरिने होइन ?’
नेम्वाङको प्रस्तावले नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।
सभामुख चुन्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद मिनेन्द्र रिजालले भने, ‘हाम्रो निर्णय यति मात्र हो । यो निर्णयमा लेखेको भन्दा घटी पनि होइन, बढी पनि होइन । बाहिर ब्याख्या, विश्लेषण घटीबढी सबै भयो ।’
प्रमुख विपक्षी कांग्रेसले उम्मेदवारी नदिएकै कारण नेकपा सांसद अग्निप्रसाद सापकोटा आइतबार सभामुख पदमा निर्वारोध निर्वाचित भएका छन् ।
डा. रिजालको सम्बोधनको अंश :
सभामुखको खोजी गर्दा सरकारको जन्म र अवसान संसदबाट हुन्छ भनेर होइन, सरकार संसदप्रति निरन्तर उत्तरदायी हुन्छ भन्ने परम्परालाई बोक्न सक्ने व्यक्ति सभामुख हुनुपर्छ । आज पनि हाम्रो भनाइ त्यही हो । सभामुख बन्नुहुने व्यक्तिले सरकार निरन्तर संसदप्रति उत्तरदायी छ, जनताको सार्वभौम अधिकारको प्रयोग त्यसैगरी हुन्छ भन्ने स्थापित गर्न सक्नुहोस्, सभामुख बन्ने व्यक्तिलाई त्यो शुभकामना दिन्छौं ।
तर, शुभकामना दिँदा दुई कुरा सम्झनुपर्छ ।
पहिलो : यो प्रतिनिधिसभासम्म कसरी आइपुग्यौं, यो इतिहासलाई हामी बिसर्न सक्दैनौं । इतिहास सम्झने हो भने विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लोकतान्त्रिक मुलधारको कुरा यही हलमा गर्नुभएको थियो । उहाँले लोकतान्त्रिक मूलधारको कुरा गर्दा सँगै हस्ताक्षर गर्ने र साक्षी बस्ने नेताहरु पनि यहाँ हुनुहुन्छ । त्यसैले, आज पनि हामी लोकतान्त्रिक मूलधार निर्माण गर्ने अविरल यात्रामा छौं ।
यस सभाका सदस्य माननीय अग्नि सापकोटालाई सभामुख चयन गरियोस् भनेर प्रस्ताव राख्दा लामो लोकतान्त्रिक आन्दोलनमा सँगै हिँडेका व्यक्तिहरुमध्ये कोही अदालतसम्म पुग्नुभएको छ, कोहीले बाहिर आफ्नो आवाजलाई बलियोरुपमा प्रस्तुत गर्नुभएको छ । हामी यहाँसम्म आइपुगेका छौं, सभामुख छान्दैछौं । र, बलिदानीपूर्ण संघर्षको यात्राका कुनै पनि साथीलाई बिर्सन सक्दैनौं ।
एउटा अवाज बलियोसँग आएको छ, भोलिको दिन विधिको शासन चल्छ चल्दैन ? संविधानले भनेअनुसारको बाटोमा देश हिँड्छ हिँड्दैन ? लोकतान्त्रिक स्पेस खुम्चिन्छ खुम्चिन्न ? आशंका छ । त्यसैले होला, सबैभन्दा बलियो र कडा स्वरमा नागरिक समाज र आम नागरिकले शंकाको कुरा गर्नुभएको छ । त्यो बाटो पार लाग्छ कि लाग्दैन ? सापकोटाले त्यो काम पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ?
मैले यति भन्नुपर्छ, माननीय सापकोटा अहिले सभामुखका लागि प्रस्तावित व्यक्ति हुनुहुन्छ । सभामुख भइसकेपछि एउटा ठूलो रुपान्तरणको प्रक्रिया सुरु हुन्छ । जसले आशंका गर्नुभएको छ, उहाँहरुको भरोसा जित्न सक्नहुन्छ कि हुन्न ? हाम्रो चासो छ ।
कांग्रेसले आज प्रतिनिधिसभामा उभिएर विपक्षका रुपमा भन्ने हो- तपाईबारे उब्जिएका आशंकालाई भोलि काम गर्ने क्रममा कसरी शान्त पार्दै जानुहुन्छ, त्यो तपाईको परीक्षा हो । त्यो परीक्षामा हाम्रोतर्फबाट सहयोग हुन्छ । यसकारण कि प्रतिनिधिसभा सरकारलाई सदैव उत्तरदायी राख्ने संस्था हो ।
संस्थाको अनुहार वा मुख सभामुखका रुपमा तपाईले काम गर्न थालेपछि हिजोको विगतभन्दा आगत महत्वपूर्ण हुन्छ । त्यो आगतले यी कुरालाई आश्वस्त गर्न सकोस् । मनमा चिन्ता लिएर हिँड्नेहरु, लोकतान्त्रिक बाटोमा कठिनाइ आउला कि ? हिजोको दुई पक्षमध्ये एक वा अर्कोको सोचबाट संसद सञ्चालन होला कि भन्ने चिन्ता गर्नेहरुलाई आश्वस्त गर्ने काम गर्नुहोला । हाम्रो शुभकामना छ । गर्नुहुन्छ, गर्नुहुन्न आउने दिनमा यही ठाउँमा बसेर हेर्छौं । गर्दासम्म तपाईलाई हाम्रो सहयोग रहन्छ । गर्न नसकेको दिनमा हामीले लामो लोकत्रान्त्रिक यात्रामा हिँडेका व्यक्ति र संस्थाहरु सबैसँग उभिन सक्नुपर्छ र त्यो प्रतिवद्धता छ ।
दोस्रो : कांग्रेस आफ्नो कर्तव्यप्रति सचेत छ । सँगसँगै १२ बुँदे समझदारीबाट सुरु भएको यात्राबाट शान्तिलाई स्थायी बनाउन चाहन्छौं । लोकतन्त्रलाई चिरस्थायी बनाउन चाहन्छौं । संविधान चिर स्थायी बनोस् । संविधानभन्दा बाहिरको बाटो कसैले खोज्नु नपरोस् । हामी यो यात्रामा छौं ।
यो यात्रामा सुरु गर्दा हामी सात दलमध्ये एउटा दल थियौं । माननीय अग्नि सापकोटा माओवादी पक्षमा हुनुहुन्थ्यो । हामीले संविधानसम्म पुग्ने कुरा पनि १२ बुँदेको दोस्रो नम्बरमा लेख्यौं- हामी संविधानसभामा पुग्छौं, जनताको सार्वभौम अधिकार प्रत्याभूत हुने संविधान बनाउँछौं, शान्तिलाई स्थायी गर्छौं ।
विस्तृत शान्ति सम्झैतामा हस्ताक्षर गर्दा पनि हाम्रा विचारहरु एक हुन पाइसकेका थिएनन् । तर, त्यसपछि पुनस्र्थापित प्रतिनिधिसभाले बाटो लिँदै गयो । अन्तरिम संविधान बन्यो । संविधानसभाको निर्वाचन भयो । आज हामी एउटा बाटो बनााएर यहाँ आएका छौं । त्यो जिम्मेवारीबाट हामी बाहिर निस्कदैनौं । संक्रमणकालीन न्यायका काम पुरा गर्नुपर्नेछ, त्यो कामबाट कांग्रेस बाहिर निस्कदैन । त्यो काममा हामी साझा बाटोमा छौं ।
हिजो दुई पक्ष हुँदा अग्नि सापकोटा एउटा पक्षमा हुनुहुन्थ्यो । आज हामी सबै मिलेर बनाएको मूलधारको प्रतिनिधिसभाको अनुहार तपाई हो । सभामुखको मुख तपाई हुनुहुन्छ । त्यसैले हिजोको कुन पक्ष होइन, आगतमा सभामुखको अनुहार बन्न सक्नुहोस् ।