‘कुसुन्डा’ भाषाको एक मात्र ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन
लोपउन्मुख कुसुण्डा भाषाको पूर्ण वक्ता मानिएकी ज्ञानीमैया कुसुण्डाको शनिबार निधन भएको छ । लमही नगरपालिका वडा नं। ६ कुलमोहरस्थित आफ्नै घरमा उनको निधन भएको हो । उनको मृत्युपछि उक्त भाषा थप संकटमा पर्ने भाषाका बीज्ञ तथा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
‘म मरेपछि यो भाषा पनि मर्छ, बचाउनुपर्छ भनेर खुबै लाग्नु हुन्थ्यो,’ कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले भने, ‘उहाँको दुःखद निधन भयो । अव यो भाषालाई बचाउन झनै समस्या पर्ने छ ।’ उनको निधनले कुसुण्डाको पहिचानमा अपूर्णीय क्षती पुगेको उनले बताए ।
अनुसन्धानकर्ता आलेका अनुसार ज्ञानीमैैयाले आफ्नो घरको पेटीमा समेत कुसुन्डा भाषाको कक्षा चलाउँथिन् । साना बालबालिकादेखी भाषा सिक्न चाहने जो कसैलाई पनि उनले सहजै भाषा सिकाउन थालिन्। भाषाको अध्ययन गर्न आउनेहरू महिनौंसम्म बसेर जान्थे । उनकै आधारमा भाषा आयोगले बिशेष कक्षा समेत चलाउन सहयोग गर्यो ।
लोपन्मुख कुसुन्डा भाषाको संरक्षणमा ज्ञानीमैयाको ठूलो योग्दान छ । सरकारले उनलाई प्रमुख भाषा स्रोत व्यक्ती मानेर नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गरेको आलेको कथन छ । भाषा आयोगले ज्ञानीमायालाई भाषिक वृद्धि स्वरुप मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउदै आएको थियो ।
त्यस्तै भाषा आयोगले उहाँलाई श्रोत व्यक्ति मानेर दुई चरणको कसुन्डा भाषा कक्षा पनि संचालन भएको थियो ।
लामो समयदेखि कुसुन्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैया बिरामी हुँदा कुसुन्डा भाषामै बर्बराउने गर्थिन्। उनका एक छोरा र दुई छोरी छन्। छोरा प्रेमको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भयो ।
छोरीहरुको विवाह भैसकेको छ । बिरामी पर्दा छोरी ज्वाई भेट्न र उपचारको लागी खटिए। उनी बुहारी र नाति नातिनाका साथ बस्दै आएका थिइन् । दशैंमा आफूभन्दा ठूलो मान्नेजन नभएकाले आफ्नै नातिनीको हातबाट दशैको टीका समेत लगाएकी थिइन् ।
बाल्यकालको जीवन जंगलमा बिताएकी ज्ञानीमैयाले आमाबुवाबाट सिकेको कुसुण्डा भाषालाई अहिलेसम्म बचाएर राखिन्। कुसुण्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको छ ।
अब कुसुन्डा भाषा बोल्न जान्ने उहाँकी बहिनी नाता पर्ने कमला कुसुन्डा मात्रै जीवित हुनुहुन्छ । ज्ञानीमैया र कमला भेट हुदा कुसुन्डा भाषामा दोहोरो कुराकानी गर्थे। अव कमलासंग दोहोरो कुराकानी गर्ने व्यक्ती छैन।
कमलालाई भाषिक कुराहरु जनकारी भए पनि ज्ञानीमैयाँमा जस्तो पूर्ण सिप र ज्ञान नभएका कुसुन्डा भाषाको शब्दकोष प्रकाशन गरेका आलेले बताए।
आलेका दाबीमा नेपालको जनगणना २०६८ अनुसार नेपालभर दुई सय ७३ जना कुसुन्डा रहेको उल्लेख छ । स्थलगत अध्ययनको क्रममा हाल जम्मा एकसय ५४ जना मात्रै रहेको आलेले जानकारी दिनुभयो । दाङमा कुसुन्डा जातीको संख्या ७५ रहेको छ । कुसुन्डा जातीको दाङ सहित तनहुँ,कपिलवस्तु,गोरखा,अर्घाखाँची,प्युठान,रोल्पा,सुर्खेतमा बसोबास गर्ने गर्दछन ।
ज्ञानीमायाँको पार्थिव शरीरलाई अन्तिम शन्दान्जली दिन भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी आउने र अन्त्येष्ठि गरिने परिवारिक श्रोतले जानकारी दिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।