गण्डकी प्रदेश प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ बन्दैछ : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ गण्डकी प्रदेश बन्दै गरेको बताउनु भएको छ ।
लमजुङ बेँसीशहर नगरपालिका-१० खासुर सामुदायिक घरवास उद्घाटन कार्यक्रममा उहाँले जातजाति, भाषा, संस्कार संस्कृति विश्वमै नेपाल रहेको र यसमध्ये पनि गण्डकी प्रदेश रहेको बताउनुभयो ।
राष्ट्रिय संस्कृतिमा पनि यस प्रदेशको नेतृत्व रहेको बताउँदै उहाँले भन्नुभयो, “सांस्कृतिक निर्माण र भाषाको विकास गर्नमा गण्डकी प्रदेशसम्पन्न छ ।”
प्रकृति र संस्कृतिको अनुपम सङ्गम ईश्वरको वरदानका रुपमा रहेको गण्डकी प्रदेशलाई विकास गर्नका लागि प्रदेश सरकार अघि बढेको उहाँले बताउनुभयो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, “प्रदेशका घरवासले भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागिसमेत मद्दत पुगेको छ ।”
यस खासुर गाउँमा १० घरवास सञ्चानमा रहेका छन् । यहाँ करिब ८० जना पर्यटकको क्षमताको रहेको घरवास सञ्चालक दूधप्रसाद घलेले बताउनुभयो । उहाँका अनुसार यस गाउँमा १५३ वटा घरधुरी छन् । यहाँ गुरुङ, मगर, तामाङ, दलित, भुजेल समुदायको बसोबास छ ।
नौ गुरुङ र एक दलित समुदायको घरवास छ । यहाँबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाललगायत विभिन्न रमणीयस्थल देख्न सकिन्छ । यस घरवासमा आएका पर्यटकलाई गुरुङ समुदायको कृष्ण चरित्र, झ्याउरे, घाँटुलगायत नृत्य प्रस्तुत गरिन्छ ।