नेकपा-राजपा गठबन्धन अब देशमा अनुमोदित भयो : प्रभु साह
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको गठबन्धन अब अनुमोदन भएको बताएका छन् ।
साहले एक वक्तव्यमार्फत यस गठबन्धनबाट विजयी उम्मेदवारहरूलाई बधाई तथा मतदातालाई धन्यवाद दिनुको साथै गठबन्धन निरन्तरताको कामना गरेका छन ।
विहिबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा र राजपाले गठबन्धन बनाई संयुक्त उम्मेदवारी दिएको र गठबन्धनका सबै उम्मेदवार विजयी हुनु गठबन्धन अनुमोदित भएको र यसको निरन्तरता हुनुपर्ने स्पष्ट जनमत रहेको अध्यक्ष साहको भनाई छ ।
अध्यक्ष साहले भने ‘हाम्रो पार्टीसँग राजपाले गठबन्धन निर्माण गर्दा एकथरीले मधेसी जनताको भावना विपरीत भएको भन्दै विरोध गरिरहेको थियो ।
तर गठबन्धनका चारै जना उम्मेदवारले गठबन्धनको भोट भन्दा दोबर मतले जीत निकाल्नु भनेको यो गठबन्धन सहि भएको र प्रदेश २ को स्पष्ट जनादेश हो । यो जनादेश नेकपा र राजपा गठबन्धनको निरन्तरताको लागि पनि हो, भन्ने बुझन जरुरी छ ।’
नेकपा र राजपा मात्र नभई अन्य दलले पनि नेकपा राजपासंग मिल्ने निर्णयलाई समर्थन गरेको जीकिर गर्दै अध्यक्ष साहले थपे, ‘नेकपा र राजपा गठबन्धनको कुल मत जोड्दा ५ सय जति मतभारको फरक मात्र छ ।
र निर्वाचन नतिजा हेर्दा हाम्रो पार्टीको उम्मेदवारले करिब ५ सय मतभारकै फरकका साथ जित निकालेका छन् । जबकि राजपाका उम्मेदवारले झन्डै हजार मतभारको फरकले जित निकालेको हो ।
यसले के स्पष्ट पार्छ भने राजपाका उम्मेदवारलाई नेपाली कांग्रेस र समाजवादी पार्टीका मतदाताले पनि मत दिएका छन् । यसले गठबन्धनको औचित्यको थप पुष्टि गरेको छ ।’