फेरि ठगिए उखु किसान : सरकारसँग भएकाे सहमति रद्दीको टोकरीमा
उखु किसानले केही दिनभित्रै अनुदान रकम पाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताएका छन् ।
सरकारले दिने एक अर्ब ९ करोड रुपैयाँमध्ये ७१ करोड रुपैयाँ सम्बन्धित जिल्लामा निकासा भइसकेको र बाँकी ३८ करोड रुपैयाँ पनि केही दिनमै उपलब्ध गराउने मन्त्री भट्टले बताएका हुन् ।
मन्त्री भट्टले निकासा हुन बाँकी ३८ करोड रुपैयाँ तत्काल उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरि सकिएको पनि बताए ।
मन्त्री भट्टले उखु किसानलाई अनुदान रकम निकासा भइसकेको बताए पनि अहिलेसम्म किसानले भने भुक्तानी रकम पाउन सकेका छैनन् ।
गएको पुस १८ गते सरकार र किसानबीच मङ्गलबारसम्ममा चिनी उद्योगीले किसानका एक अर्ब २० करोड रुपैयाँ भुक्तानी गर्ने सहमति भए पनि कार्यान्वयन भएको छैन । आउँदो शुक्रबार १० गतेपछि तीनै तहका सरकारसँग थप छलफल गरिने उखु किसान सङ्घर्ष समितिले जनाएको छ ।
आर्थिक वर्ष २०७४/७५ को झण्डै दुई करोड रुपैयाँसहित यो वर्षको अनुदान रकम आफूहरुले नपाएको उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।
नगरपालिकाको सिफारिसमा भुक्तानी समितिले प्रमाणित गरेर अनुदान रकम चिनी उद्योगीकै खातामा हालिदिने प्रावधान छ । चिनी उद्योगको खातामा पैसा पुगेपछि मात्रै किसानको खातामा जाने भएकोले तत्काल किसानले पैसा पाउन सक्ने अवस्था नरहेको अध्यक्ष मैनालीको भनाइ छ ।
यसैबीच चिनी उद्योगीले मङ्गलबारसम्ममा सबै रकम भुक्तान गर्नुपर्ने भए पनि त्यसो नभएपछि उखु किसानले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । पटक-पटक किसानसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ ।
उखु किसानले उद्योगबाट पाउनुपर्ने एक अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा १५ करोड रुपैयाँमात्र भुक्तानी पाएका छन् । सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपूर्ण सुगर मिल धनकौलले ३५ करोड, श्रीराम सुगर मिल रौतहटले ४२ करोड र नवलपरासीको इन्दिरा सुगर मिलले ९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
गएको सोमबार महालक्ष्मी सुगर मिल बगदहले ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिल धनकौलले ३ करोड ९० लाख र इन्दिरा सुगर मिल नवलपरासीले ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेका छन् ।