एभरेष्ट पानोरमा होटलमा अचेत भेटिएका ८ भारतीयमध्ये १ जनाको मृत्यु
हेटौंडा : मकवानपुरको उत्तरीक्षेत्रस्थित पर्यटकीय नगरीको रुपमा परिचित थाहा नगरपालिकामा अचेत अवस्थामा भेटिएका ८ भारतीयमध्ये १ जनाको मृत्यु भएको छ।
थाहानगरपालिका-४ स्थित सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा होटलमा सोमबार रात बिताएका ८ जना पर्यटक अचेत अवस्थामा भेटिएकोमध्ये १ जनाको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लालप्रसाद कुर्मीले जानकारी दिए।
उनका अनुसार बाँकी ७ जनामध्ये ५ जनालाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं पठाइएको छ। ‘बाँकी २ जनालाई लान काठमाडौंबाट फेरि हेलिकोप्टर आउँदै छ,’ मकवानपुरबाट प्रवक्ता कुर्मीले भने, ‘अहिले कसैको परिचय खुलेको छैन।’
प्रहरी निरीक्षक कुर्मीका अनुसार भारतबाट नेपाल घुम्न आएका १५ भारतीय नागरिकको समूहले पनोरमा रिसोर्टका दुई कोठा लिएका थिए। जसमध्ये एउटा कोठामा ८ र अर्काे कोठामा ७ जना बसेका थिए।
‘तीमध्ये ८ जना बसेका कोठाका सबै जना मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन्,’ प्रहरी निरीक्षक कुर्मीले भने, ‘अर्काे कोठामा बसेका ७ जना भने सकुशल छन्।’ राति ग्यास हिटर बालेर सबै झ्याल बन्द गरी सुतेकाले निस्सासिएर उनीहरू बेहोस भएको हुन सक्ने अनुमान गरिएको छ। तर यकिन कारण खुल्न बाँकी छ।
तीमध्ये कति जना पुरुष, कति महिला भन्ने खुलिनसकेको प्रहरी निरीक्षक कुर्मीले बताए। तर बेहोस ८ मध्ये ४ महिला ४ पुरुष भएको अनुमान गरिएको छ।