प्रतिनिधिसभाको बैठक बस्नुअघि नै उपसभामुख तुम्बाहाङ्फेको राजीनामा
प्रतिनिधिसभाको बैठक बस्नुअघि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने भएकी छन् ।
अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उनले राजीनामा दिन लागेको बताइएको छ ।
यसअघि सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई आइतवार नेकपा सचिवालय बैठकअघि ओलीले बोलाएर छलफल गरेका थिए ।
आजको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् । संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने संसद् सचिवालयका सन्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ ।
यसैबीच, नेकपा सचिवालयबाट अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयपछि राजीनामा दिन बाध्य पारिएकी उपसभामुख तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी छ ।