गायिका आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी
काठमाडौं– प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । स्रोतका अनुसार प्रहरीले आज (आइतबार) उनलाई अनुसन्धानका लागि बोलाउने, नआए पक्राउ गर्ने तयारी गरेको हो ।
यसका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिने तयारी गरेको छ । अभद्र व्यवहार कसुरमा प्रमुख जिल्ला अधिकारीले आरोपितलाई कैद र जरिवाना गराउन सक्छन् ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थको घटनाका विषयमा सीसीटीभी फुटेजसमेत बाहिर आएपछि प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको हो । मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अनुसार गायिका आस्थामाथि कारबाही गर्ने प्रहरीको तयारी छ ।
महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ ।
अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ नम्बर बुँदाको प्रावधान अनुसार अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
गायिका आस्थाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी तैनाथ जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी आस्थामाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको हो ।
गायिका आस्थाविरुद्ध विमानस्थलकी जवान रमिता श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार उजुरी दिएकी थिइन् ।
उजुरीको व्यहोरा र सीसीटीभी फुटेज महानगरीय प्रहरी कार्यालयले काठमाडौं परिसरलाई कारबाही थाल्न निर्देशन दिएको थियो ।