Logo
२ माघ २०८१, बुधबार
(January 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यवसायिक र मर्यादित बनाउन पत्रकारितामा थप सुधारको खाँचो छ : जनप्रतिनिधिहरु

भक्तपुर:  निर्वाचित जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन थप सुधारको खाँचो रहेको औल्याएका छन् ।

भक्तपुरबाट प्रकाशित हुने समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाको १५औं बर्ष प्रवेश कार्यक्रमका सहभागि जननिर्वाचित प्रतिनिधिसभा सांसद, प्रदेशसभा सांसदहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायिक, मर्यादित र उत्तरदायि बनाउन सुधारको खाँचो औल्याएका हुन् ।

बार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले पछिल्लो समयमा पत्रकारिता क्षेत्र सशक्त र प्रभावकारी बन्दै आइरहेको बताउदै पत्रकारिता पेशाबाटै पत्रकारहरुको सहज जीवनयापन गर्ने अवस्था बनि नसकेको भन्दै पत्रकारितामा सुधार आवश्यक रहेको बताए ।

सांसद बस्नेतले पत्रकारहरु समाज र राष्ट्रप्रति उत्तरदायी र जिम्मेवार रहेकाले पत्रकारहरु व्यवसायिक बन्नुपर्ने र यसका लागि प्रकाशन गृह र सरकारको तर्फबाट पत्रकारहरुलाई व्यवसायिक बनाउने कार्य योजना ल्याउनुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका सांसद राजेन्द्रमान श्रेष्ठले आम सञ्चारका बिभिन्न माध्यमहरुबाट आज सहज रुपमा समाचार र जानकारीहरु तत्काल प्राप्त गर्ने अवस्था बिद्यमान हुँदाहुँदै यसको विश्वशनियतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुन थालेकाले विश्वसनिय पत्रकारिताको विकास गर्नु आवश्यक रहेको औल्याए ।

सो अवसरमा अर्का बागमती प्रदेश सांसद शशिजंग थापाले पत्रकारिता पेशाप्रतिको आकर्षण बढ्दै गइरहेको तर, प्रकाशन गृह र पत्रकारहरु व्यवसायिक बन्न नसक्दा मर्यादित पत्रकारिता थप प्रभावकारी हुन नसकेको बताए ।

प्रदेश सांसद सरस्वती बाटीले पत्रकारिताले सामाजिक रुपान्तरणमा मात्र नभै एउटा आम मानिसको जीवन रुपान्तरणका लागि समेत भूमिका खेलिरहेका कारण यसको विश्वसनियतामा आँच आउन दिन नहुने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीलगायतले आजको युग सुचना, सञ्चार र प्रविधिको युग भएकाले सञ्चार जगतकै माध्यममार्फत आम नागरिक सुसूचित हुने हुनाले पत्रकारितालाई व्यवसायिक, मर्यादित, जवाफदेही र जनउत्तरदायि बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा समय समाज साप्ताहिकका सम्पादक सोम शर्मा (बजगाईं), अध्यक्ष बालमुकुन्द सुवाल र सञ्चालक राजुराम मुनंकर्मीले पत्रकारिताको व्यवसायिक विकास, मर्यादित, उत्तरदायि र जिम्मेवार पत्रकारिताका लागि समय समाजले भूमिका निर्वाह गरिरहेको बताए ।

क्रियाशिल पत्रकारिता सम्मान राससका रत्नकृष्णलाई

समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाले हरेक बर्ष प्रदान गर्दै आइरहेको क्रियाशिल पत्रकारिता सम्मान यस बर्ष राष्ट्रिय समाचार समितिका उपसमाचारदाता एवम् फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई प्रदान गरेको छ ।

पत्रिकाले आफ्नो १५औं बर्ष प्रवेश कार्यक्रमका अवसरमा फोटो पत्रकार श्रेष्ठलाई पाँच हजार पाँच सय पचपन्न रुपैयाँ नगदसहित दोसल्ला, भाँदगाउले टोपी र सम्मानपत्रद्धारा सम्मान गरेको हो ।

उनलाई प्रतिनिधिसभा सांसद महेश बस्नेत, नेकपाका केन्द्रिय सदस्य एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, समय समाजका अध्यक्ष सुवालले सम्मान गरेका हुन ।

यस्तै पत्रिकाले आफ्नो बार्षिक उत्सवका अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा पत्रिकाका व्यवस्थापक एवम् पत्रकार नारायण थापालाई नगद, भाँदगाउले टोपी र कदरपत्रद्धारा सम्मान गरेको छ भने पत्रिकाका नियमित लेख स्तम्भकार प्रकाशकुमार कार्कीलाई समेत भाँदगाउँले टोपी र कदरपत्रद्धारा सम्मान गरेको छ ।

प्रकाशित मिति: Jan 16, 2020

प्रतिक्रिया दिनुहोस्