बिजुलीबाट चल्ने बस अब नेपालमै बनाइने, एक पटक चार्ज गरेपछि १००० किलोमिटरसम्म गुड्ने
संसारको सबैभन्दा धेरै माइलेज दिने भनिएको विद्युतीय सवारी साधन ब्रिक्सन नेपालमै एसेम्बल हुने भएको छ ।
विद्युतिय सवारी साधन निमार्ता कम्पनी ब्रिक्सनको नेपालको लागि आधिकारिक वितरक हिमालय मोटरक्र्सले सन् २०२५ सम्ममा नेपालमै एसेम्बल प्लान्ट निमार्ण गर्ने घोषण गरेको छ ।
नेपालमा प्लान्ट नबनुन्जेल भारतको प्लान्टमा निर्मित गाडी आयात गरिने कम्पनीका प्रबन्ध निर्देशक ध्रुव थापाले जानकारी दिए ।
‘नेपालमा गाडी बनाउदा ग्राहकलाई सस्तो पर्न जान्छ भने रोजगारीको श्रृजना पनि हुन्छ । त्यसैले हामीले नेपालमा प्लान्ट बनाउने सर्तमा नै यी गाडी आयात गर्न लागेका हौ,’ थापाले भने ।
अष्ट्रेलियन टेक्नोलोजीका यी बस करिव ३ महिनामा नेपालमा विक्रि वितरण शुरु गरिने कम्पनीले जनाएको छ ।
नेपालमा ब्रिक्सनका १५ सिटका माक्रोबस देखि ४२ सिटसम्मका बसहरु र कार तथा जिपहरु समेत उपलब्ध हुने कम्पनीले बताएको छ ।
यसका ब्याट्रीहरुमा कम्पनीले २० वर्षको वारेन्टी प्रदान गरेको छ भने रिसाइकल गरेर थप २० वर्ष प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।
यी सवारी साधनलाई फुल चार्ज गर्न ४ देखि ८ घण्टासम्म लाग्ने र एक पटक फुल चार्ज गरिसकेपछि एक हजार किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।