Logo
४ मंसिर २०८१, मंगलबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवकास पाउने खनाल बिदामा बस्न नपाउने, नयाँ आईजीपीका लागि ३ जना प्रतिस्पर्धामा

काठमाडौं- सामान्यतयाः सुरक्षा फौजको प्रमुख अवकाश हुुनुभन्दा एक महिनाअघि भावी नेतृत्वकर्तालाई कायममुकायम दिएर बिदामा बस्ने प्रचलन छ। तर, यसपटक नेपाल प्रहरीमा यो प्रचलनले निरन्तरता नपाउने भएको छ ।

दोस्रो वरीयतामा रहेका अधिकृतले पनि सँगै अवकास पाउने भएका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदा बस्न नपाउने भएका हुन् ।

नेपाल प्रहरीको दोस्रो वरीयतामा आईजीपी खनालपछि एआईजी पुष्कर कार्की छन् । कार्की र खनालले सँगै अवकास पाउँदैछन् । दुवैले सँगै अवकास पाउने भएपछि कामको जिम्मेवारी कसलाई दिने भन्ने समस्या भएको हो ।

त्यसो त, अवकास हुनु एक महिनाअघि आईजीपी बिदामा बस्ने नेपाल प्रहरीको प्रचलनमात्रै हो । प्रहरी नियमावलीमा यस्तो व्यवस्था छैन । एक महिनाअघि बिदा बस्ने कुरा ऐच्छिक भएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

आईजीपी खनालले अबको ठीक एक महिनापछि माघ २९ गते अवकास पाउँदैछन् । उनीसँगै ३ एआईजी र १८ डीआईजीले पनि अवकास पाउन लागेका छन् ।

उनीहरु सबै ०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । ३० वर्षे सेवा अवधि पूरा गरेर उनीहरुले अवकास पाउन लागेका हुन् । यसरी सेवाबाट अवकास पाउनेमा आईजीपी खनालसँगै पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत रहेका छन् ।

यस्तै एकै दिन अवकाश पाउने डीआइजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् ।

यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् ।

यी मध्ये डीआइजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाईसकेका छन् ।

आईजीपी खनालको कार्यकाल सकिन लागेपछि डीआईजीहरु ठाकुर ज्ञवाली, तारिणी लम्साल र सूर्यप्रसाद उपाध्याय आईजीपीको दौडधुपमा लागेका छन् । तीनैजनाले ०४७ असार २५ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट सेवा प्रवेश गरेका थिए ।

सत्तारुढ दल नेकपाका नेताहरुसँग राम्रो सम्बन्ध भएका कारण आईजीपीमा ठाकुर ज्ञवालीको सम्भावना बढी रहेको स्रोत बताउँछ । अन्य दुई डीआईजी पनि माहोल मिलाउन लागिपरेका छन् ।

खनालपछि नेतृत्वमा आउने आईजीपीको कार्यकाल पाँच महिनामात्रै हुनेछ, किनकी प्रतिस्पर्धामा रहेका तीनैजनाले आगामी असार ३० गते अनिवार्य अवकास पाउनेछन् ।

गृह मन्त्रालयले वरीयता र कार्यक्षमताका आधारमा आईजीपी नियुक्त गर्छ । यद्यपि, राजनीतिक प्रभावले यसमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यसअघि जयबहादुर चन्द, नवराज सिलवाल र प्रकाश अर्यालबीचको प्रतिस्पर्धामा अर्याल आईजीपी हुँदा ठूलै राजनीति भएको थियो ।

डीआईजीत्रय ज्ञवाली, उपाध्याय र लम्सालमध्ये एकजना आईजीपी बन्नेछन् । बाँकी दुईसहित प्रवक्ता शैलेश थापा क्षेत्री, सीआईबी प्रमुख निरजबहादुर शाही, विशेष ब्यूरो प्रमुख हरिबहादुर पाल, प्रदेश नम्बर २ प्रमुख प्रद्युम्न कार्की र महानगरीय प्रहरी आयुक्त विश्वराज पोखरेलबीच एआईजी बढुवाका लागि प्रतिस्पर्धा हुनेछ ।

पोखरेल असारपछि आईजीपी बन्ने चर्चा पनि छ । उनी आफ्नो ब्याचबाट एक्लै डीआईजीमा बढुवा भएका हुन् ।

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्