ओमनका सुल्तानको निधनप्रति गुटेर्रेसको समवेदना
ओमनका सुल्तानको निधनप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो समवेदना व्यक्त गरेको संयुक्त राष्ट्रसंघका प्रवक्ताले शनिबार जानकारी दिएको छ ।
‘ओमनका सुल्तान काबोस बिनको मृत्यु भएकोमा गहिरो शोक व्यक्त गर्दछौं,” गुटर्रेसका प्रवक्ता स्टेफेन दुजारिकले एक विज्ञप्तिमार्फत बताएको छ ।
सुल्तानको नेतृत्व बारे प्रकाश पार्दै उनले सुल्तानले ५० वर्ष ओमनको नेतृत्व गर्दा ओमनलाई समृद्ध र स्थिर मुलुकमा रूपान्तरण गराउनु भएको उल्लेख गरेको छ ।
ओमनका सुल्तान काबोस बिनको ७९ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।
आधुनिक अरबी देशका शासकमध्ये उनि धेरै समय शासन गर्ने शासकमा पर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले सन् १९७० देखि अहिलेसम्म झण्डै ५० वर्ष ओमनमा शासन गरेको हो । उनले आफ्नै पितालाई अपदस्त गरेर शासन लिनुभएको थियो ।
उनी केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गराइरहेका थिए । क्यान्सरकै कारण अहिले उनको निधन भएको बताइएको छ ।
उनी अविवाहित भएकाले कुनै छोराछोरी नभएको र उनका नातेदारलाई उत्तराधिकारी तोकिएको छ । पारिवारिक बैठकबाट उहाँकै नाता पार्ने हैथाम बिन तारिकलाई नयाँ शाही शासकका रुपमा छनौट गरिएको छ ।
“हैथाम बिन तारिकलाई देशको नयाँ सुल्तानका रुपमा सपथग्रहण गराइएको छ,” सरकारी अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
ओमनको संविधानमा एक जना शासकको निधनभएपछि तीन दिनभित्रमा नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था रहेको जनाइएको छ ।
अधिकांश विश्लेषकले काबोसका अर्का नातेर असद बिन तारिकलाई नयाँ सुल्तानका रुपमा हेरेका थिए ।
सन् २०१९ मा उनलाई उपप्रधानमन्त्री तथा अन्तरराष्ट्रिय सम्वन्ध र सहकार्य मामिला मन्त्रीमा नियुक्त गरिएकाले त्यतिबेलादेखि नै उनलाई भावी सुल्तानका रुपमा हेरिएको थियो ।