उपसभामुखद्वारा अध्यक्ष द्वयको आग्रह अस्वीकार, नेकपा नेतृत्व संकटमा
उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले गरेको राजिनामाको आग्रहलाई दोस्रो पटक पनि अस्वीकार गरेकी छन् ।
तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोर्होयाउँदै राजीनामा नगर्ने प्रष्ट पारेको स्रोतले जनाएको छ । सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।
उनलाई सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाएका थिए । तर उपसभामुखले राजीनामा दिन्न भनेर हिँडेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतले भन्यो-दुवै अध्यक्षले तपाईं राजीनामा दिएर निकास दिनुस भन्नुभयो । अहिलेसम्म सभामुख कसलाई बनाउने भनेर व्यक्तिमा छलफल भएको छैन । बाहिर आएका हल्लाको कुनै अर्थ छैन । तर उपसभामुखले म राजीनामा दिन्न भनेर हिँडेपछि अब फेरि सम्झाउनुपर्ने भएको छ । परिस्थिति अलि पेचिलो बन्यो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएको भनिएकी उपसभामुखले पार्टीको आग्रह र निर्णयसमेत नमानेपछि अब के गर्ने भन्नेमा नेतृत्व छलफलमा छ । उनलाई अन्तिम पटक सम्झाउने तयारी छ । सम्भवतः प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि आग्रह गर्नेछन् । अहिले उनलाई सभामुख नबनाउने निर्णय नभएकाले राजिनामा दिएर निकास दिनुपर्ने नेतृत्वको भनाइ छ ।
तुम्बाहाम्फेले राजीनामा दिएपछि मात्र नेकपाबाट कसलाई उम्मेदवार बनाउने भनेर छलफल हुने नेताहरुले बताए । उपसभामुखलाई बोलाएरै छलफल गर्दा पनि निकास दिन नमानेपछि नेकपा नेतृत्व संकटमा परेको छ ।