Logo
२ माघ २०८१, बुधबार
(January 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्योलमा

सत्तारूढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ । कार्यतालिकाअनुसार सभामुखको निर्वाचन प्रक्रिया शुरूगर्न प्रतिनिधिसभाको बैठक आइतबार बस्नुपर्ने हो । तर नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेकाले बैठक बोलाउनेरनबोलाउने अन्योल बढेको संसद् सचिवालय स्रोतले जनाएको छ ।

‘नेकपाका तर्फबाट अहिलेसम्म खबर आएको छैन, सम्भवतः आइतबार पनि सभामुखको चुनावी प्रक्रियामा जान सकिँदैन होला,’ संसद् सचिवालय स्रोतले भन्यो, ‘बैठक बोलाएर सभामुखको चुनावी प्रक्रिया अलि ढिलो शुरू गर्न पनि सकिन्छ ।’

यसअघि दुईपटकसम्म दुई दिनभित्रै सभामुख चयन गर्ने गरी कार्यतालिका तय गरिएको थियो । तर नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि पुस ११ र १६ मा बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आइतबारको बैठक सकेसम्म सूचना टाँसेर स्थगित गर्नु नपरोस् भन्ने सोचिएको नेकपा महासचिव विष्णु पौडेलले बताए । ‘ठ्याक्कै भन्न सकिने अवस्था छैन तर अहिलेसम्मको प्रगति हेर्दा आइतबार सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ला,’ उनले भने ।

यसका लागि आइतबार ज्येष्ठ सदस्यले बैठक चलाउने र उम्मेदवार मनोनयनका लागि साता दिनजति समय दिने गरी प्रक्रिया अघि बढाउने विकल्पबारे सोचिएको संसद् सचिवालय स्रोतको भनाइ छ ।

संसद्मा बहुमतका आधारमा सभामुख नेकपाकै हुने अवस्था छ । तर उपसभामुख र सभामुख एउटै दलको हुन नहुने संवैधानिक प्रावधान भएकाले यो प्रक्रिया शुरूहुनुअघि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्नेछ । उनले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुअघि उपसभामुखबाट राजीनामा दिने सम्भावना छ । कान्तिपुरसँगको कुराकानीमा भने तुम्बाहाङ्फेले आफूले राजीनामा दिनेबारे सोचिनसकेको बताइन् । ‘मेरो नेकपा अध्यक्षहरूसँग कुरा भइसकेको छैन, कुराकानीपछि औपचारिक धारणा भन्नेछु,’ उनले भनिन्, ‘अहिलेसम्मको अवस्थामा भोलि संसद् बैठक चल्छ । सभामुखको चुनावी प्रक्रिया मैले शुरूगर्छु ।’ उनले यही कुरा शुक्रबार दुवै अध्यक्षलाई समेत भनेकी थिइन् । उनले भनेजस्तै आइतबार उनैले सभामुखको चुनावी प्रक्रिया शुरूगरे संविधानको व्यवस्थाअनुसार नेकपाले सभामुखमा उम्मेदवार दिन पाउने छैन ।

उनलाई उपसभामुख बनाएको नेकपाले भने राजीनामा गराउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । नयाँ सभामुखको उम्मेदवार को हुन्छ भन्नेबारे भने कुनै छलफल नभएको श्रेष्ठले बताए । ‘शनिबार यही एउटा मात्रै निर्णय भयो, उपसभामुखज्यूको राजीनामा आएपछि उम्मेदवारबारे छलफल होला,’ श्रेष्ठले भने ।कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 12, 2020

प्रतिक्रिया दिनुहोस्