Logo
४ मंसिर २०८१, मंगलबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शल्यक्रिया गरे पनि निको नहुने भएपछि ‘मृत्यु पर्खिनु’ को विकल्प छैन

५० वर्षीय केसाङ परिवर्तित नाम भरतपुर क्यान्सर अस्पताल चितवनमा एक साता बसेर गत आइतबार ललितपुर गोदावरीको घर फर्किए । अन्तिम चरणमा पुगेको आन्द्राको क्यान्सर शल्यक्रिया गरे पनि निको नहुने भएपछि अब उनीसँग उनकै शब्दमा ‘मृत्यु पर्खिनु’ को विकल्प छैन ।

रोग पत्ता लाग्नेबित्तिकै उपचार गराउन अस्पताल पुगेको भए उनी छिट्टै निको हुन्थे तर उनी ‘बिना अपरेसन क्यान्सर निको पार्छौं’ भन्ने प्रचारको पछि लागे । शरीर डामाडोल भयो ।

करिब १७ महिनाअघि केसाङले आफ्नो आन्द्रामा क्यान्सर भएको पत्ता पाएका हुन् । डाक्टरले तुरुन्तै उपचार गरे रोग छिट्टै निको हुने पनि भनेका थिए । तर उनलाई शल्यक्रियासँग डर लाग्यो । उनले शरीर चिर्दै नचिरी सन्चो हुने उपचार पद्धतिबारे सुनेका थिए । सुरुमा त उनले बिमारबारे परिवारका सदस्यलाई पनि भनेनन् । गल्दै गएर करिब सात महिनाअघि उनले परिवारलाई बताउँदा उनको क्यान्सर स्टेज २ मा थियो ।

 

उनका छोरा सोनम परिवर्तित नाम भन्छन्, ‘बुबाले शल्यक्रियाभन्दा सजिलो केही उपाय छ भने बुझौं न भनेपछि हामीले इन्टरनेटमा खोज्यौं ।’ शल्यक्रिया नै नगरी रोग निको पार्छौं भन्दै प्रचार गरिरहेको ललितपुरको ढोलाहिटीस्थित ‘अन्तिम विकल्प’ मा सोनम बुबालाई लिएर गए । उनले अन्तिम विकल्पका सञ्चालक सुवास सुब्बालाई भेटेर बिमार र त्यसको उपचारबारे परामर्श गरे । सुब्बाले अन्तिम विकल्पलाई अस्पताल दाबी गर्दै गरेको प्रचार फेसबुक र युट्युबमा छ्यापछ्याप्ती छ । त्यहाँ उपचार गराएर निको भएका भनिएका ‘बिरामी’हरूलाई सुब्बा आफैंले भेटाइदिए । सबैको कुरा र दाबी सुनिसकेपछि सोनमलाई लाग्यो, ‘शल्यक्रिया नै नगरी दसै महिनामा उपचार हुने यो त गज्जबको ठाउँ रहेछ ।’

उनीहरूले त्यही उपचार सुरु गरे । सुब्बाले क्यान्सर निको पार्ने भन्दै आफ्नै क्लिनिकमा उत्पादन गरेको चमत्कार नामक औषधि चालु गराए । महिनाको ४५ हजार तिरेर किनेको त्यो औषधि केसाङले लगातार चार महिनासम्म खाए ।

 

तर रोगले च्याप्दै लग्यो, दुखाइ बढ्दै गयो, उनी शिथिल बने । आयुर्वेदिक भनिएको उक्त क्लिनिकबाट ल्याएको औषधिले सञ्चो नहुने देखिएपछि सोनमले बुबालाई अस्पताल लगे । त्यति बेला आन्द्राको क्यान्सर दिमागसम्म फैलिएको थियो । अहिले केसाङको आन्द्रा बन्द भएको छ । दिसा निस्किने बाटो नभएर पेट फुलेको छ । किमोथेरापीको माध्यमबाट जहिलेसम्म चल्छ, उनको जिन्दगी त्यत्ति नै हो ।

बेस्सरी पेट दुख्न थालेपछि ललितपुर कुसुन्तीकी सानु थापा गत जेठमा प्रसूति गृह थापाथलीमा जँचाउन पुगिन् । उनलाई क्यान्सरले छोइसकेको रहेछ । टेलिभिजन र युट्युबमा जस्तोसुकै रोग निको पार्ने र त्यसका लागि शल्यक्रिया पनि गर्नु नपर्ने प्रचार हेरेकी उनी अन्तिम विकल्पमा पुगिन् । त्यसका सञ्चालक सुब्बाले उनीसँग १० महिनामै क्यान्सर निको पारिदिने ग्यारेन्टी गरे । महिनाको ४५ हजारमा तीनथरी औषधि खानुपर्ने बताए । यो हिसाबमा सानुले ३ लाख १५ हजार रुपैयाँ औषधिका लागि मात्रै खर्च गरेकी छन् । सातौं महिनामा पुग्दा सानुको क्यान्सर झन् फैलियो, दुखाइ बढ्न थाल्यो । उनी आत्तिइन् । सुब्बाले मुख नबारेकाले औषधिले काम नगरेको भन्दै उल्टै गाली गरे । अहिले क्यान्सर रोग विशेषज्ञको सरसल्लाहमा उनको उपचार भइरहेको छ । तर यो सात महिनामा सानुको क्यान्सर दोस्रो स्टेजबाट चौथो स्टेजमा पुगेको छ ।

धादिङकी ४७ वर्षीया सुन्दरी तामाङ र उनको परिवार सोमबार अत्तालिँदै काठमाडौं क्यान्सर अस्पताल भक्तपुर पुग्यो । नाकको पछाडिको भागमा सुरु भएको क्यान्सर फैलिएर दिमाग र देब्रे आँखामा पुगिसकेको छ । उनी पनि युट्युब र फेसबुक हेरेर अन्तिम विकल्प पुगेकी थिइन् । १० महिनासम्म त्यहींको चमत्कार नामक औषधि खाइन् । तर बिमार झन्झन् बढ्दै गएपछि तामाङलाई सोमबार अस्पताल पुर्‍याइएको छ ।
काठमाडौं क्यान्सर अस्पतालमा मात्रै सुरुमा यस्ता गलत प्रचारवाला ठाउँमा पुगेर रोगले असाध्यै चर्को भएपछि आएका ६ जना बिरामी छन् । सबै क्यान्सरको स्टेज ४ का बिरामी हुन् । ‘क्यान्सर पत्ता लाग्नेबित्तिकै उपचार गर्न पाएको भए अहिलेसम्म उनीहरू तन्दुरुस्त भइसक्थे,’ अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा। आविश अधिकारीले भने ।

कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्