मर्मतका लागि भन्दै भारतले बन्द गर्यो मीरगञ्ज पुल, नेपालमा हुने आयात निर्यात १२ दिन ठप्प
विराटनगर : भारतको बथनाहामा रहेको मीरगञ्ज पुल मर्मतका लागि भन्दै भारतले १२ दिन बन्द गर्ने बताएको छ ।
उक्त पुलबाट हुने आवगमन भारतले बिहीबार बिहानबाट पुन बन्द गरेको छ । पुल बन्द गर्दा नेपालमा हुने आयात निर्यात ठप्प भएको छ ।
यो पुल हुँदै नेपालकै दोस्रो ठुलो नाका विराटनगर भन्सारबाट भारतसहित तेस्रो मुलुकबाट आयात हुने गरेको थियो ।
भारतले यस अघि ९ दिन बन्द गरेर एकसाता अघि मात्र पुल सञ्चालनको अनुमति दिएको थियो । पुन बिहीबार (आज) बाट माघ ६ गतेसम्म पुल बन्द गर्ने सूचना नेपाललाई दिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पोखरेलले बताए ।
भारतले पुलबाट आयात निर्यात बन्द गरे पनि विकल्पमा अन्य रुट प्रयोग गर्नसमेत नदिएको भन्सार अधिकारीले जानकारी दिएका छन् । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पोखरेलका अनुसार भारतले तेस्रो मुलुकबाट सामान लिएर आएका सवारी साधनलाई मात्र वैकल्पिक रुट प्रयोग गर्न दिने बताएको छ ।