सामान्य वर्षात्ले आन्तरिक उडान आंशिकरुपमा प्रभावित
सामान्य वर्षात्ले उड्डयन क्षेत्रमा सामान्य प्रभाव परेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिकरुपमा प्रभावित भएको छ । अन्तरराष्ट्रिय उडानमा खासै समस्या नरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।
सामान्य तुवालो सहितको वर्षात्ले दृष्टिक्षेत्र ( भिजिविलिटी) कम हुँदा आज बिहानैदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा केहि समस्या भएको छ । यन्त्रको सहायताबाट विमानचालकले हेर्ने दृश्य अर्थात् इन्टुमेन्ट फ्लाइट रुल्स(आइएफआर) प्रविधिको सहायताले आन्तरिक र अन्तरराष्ट्रिय उडान भइरहेको छ ।
आन्तरिक उडान खासगरी पहाडी क्षेत्रको प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएको तथा पहाडी क्षेत्रमा पनि जहाजले उचाइ लिन नसक्ने भएका कारण उडान प्रभावित भएको उनले बताए । विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० तथा अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बद्ली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको जनाएको छ ।
वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।