अल्पमतमा मुख्यमन्त्री राउत : प्रदेश २ को प्रदेशसभा बैठक लगातार अवरुद्ध
आज बोलाइएको प्रदेश नम्बर २ को प्रदेशसभा बैठक बस्दै नबसि स्थगित भएको छ । प्रदेशसभा बैठक बिहीबार दिउँसो १ बजेको लागि बोलाइएको थियो ।
आज बोलाइएको बैठक पुस २४ गते दिउसो १ बजे सम्मको लागि स्थगित गरिएको सभामुखका प्रेस संयोजक प्रभाकर सिंहले जनाए । प्रदेश सरकारले आन्तरिक तयारी नगरेकाले प्रदेश बैठक स्थगित भएको जनाइएको छ । यसभन्दा पहिले सोमबार र मंगलबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरुले अबरुद्ध गर्दै आएको थियो ।
उनीहरुले उपभोक्ता समितिमार्फत भएको विकास निर्माणको भुक्तानी, जनता आवास, माननीयहरुको संसदीय कोषको कार्यविधि, सशर्त अनुदान लगायतका विषयमा मुख्यमन्त्री लालबाबु राउतले सदनमा उपस्तिथि भई जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।
अल्पमतमा मुख्यमन्त्री राउत
बदलिएको राजनीतिक परिवेशसँगै सत्तारुढ दल र प्रतिपक्षी दलबीच आवश्यक समन्वय नभएपछि आज अपराह्न १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा र विपक्षी दल कांग्रेसका प्रदेश सभा सदस्यहरुले प्रदेश सभा अवरुद्ध गर्दै आएपछि भएको सर्वदलिय बैठकले निकास दिन नसकेपछि आजको बैठक स्थगित भएको हो ।
सांसदहरुको संसदीय विकास कोष कार्यविधि, जनता आवास कार्यक्रम, सशक्त अनुदान र उपभोक्ता समितिमार्फत गरिएका कामका भुक्तानीका विषयमा व्यापक अनियमियतता भएको भन्दै सांसदहरुले मुख्यमन्त्री लालबाबु राउतले नै सभामा आएर जवाफ दिनुपर्ने माग उठाउँदै आएका छन् ।
समाजवादी पार्टीका नेता समेत रहेका मुख्यमन्त्री राउतले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नमानेपछि सहमतिका लागि भन्दै बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
काठमाडौंमा संघीय सत्तारुढ दल नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको सहमतिले दुई नम्बर प्रदेशमा तरंग ल्याइरहँदा प्रदेश सभा बैठक स्थगित हुनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
पछिल्लो समयमा प्रदेश नम्बर २ को प्रदेश सरकार परिवतनको चर्चा चलेपछि तनावमा रहेका मुख्यमन्त्री राउतलाई सत्तारुढ दल राजपाका मन्त्रीहरुले समेत साथ नदिने संकेत देखेपछि मुख्यमन्त्री राउत तनावमा परेका हुन् ।
राजपाको समर्थनमा मुख्यमन्त्री बनेका राउत पछिल्लो समयमा अल्पमतमा परेको देखिन्छ । नेकपा र राजपाबीच बढ्दो सामिप्यताले गर्दा झस्किन पुगेका राउत अहिले उप्ठेरोमा परेका छन् ।
प्रदेश नम्बर २ मा नेपाली कांग्रेसको समर्थन पाएपनि समाजवादी पार्टी अल्पमतमा देखिन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा र राजपाबीच सम्बन्ध नजिकिदै गर्दा अब राजपाको मुख्यमन्त्री हुने चर्चा प्रदेश नम्बर २ मा चलेको छ ।