६ विश्वविद्यालय उपकुलपतिविहीन, प्रधानमन्त्री कार्यालयबाट नाम नआउँदा सिफारिस हुन सकेन
चार विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न गठन भएको शिक्षामन्त्री नेतृत्वको सर्च कमिटी नै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीबाट नाम पर्खेर बसेको छ । सर्च कमिटी गठन गरेको महिनौँ बिते पनि प्रधानमन्त्री कार्यालयबाटै नाम नआउँदा सिफारिस हुन सकेको छैन । हाल ६ विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् ।
विश्वविद्यालय ऐनअनुसार उपकुलपति छनोट गर्न गत भदौमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको सर्च कमिटीलाई सकस भएको छ ।
शिक्षामन्त्रीको अध्यक्षतामा कुलपति तथा प्रधानमन्त्री ओलीले कृषि तथा वनविज्ञान, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा विश्वविद्यालयको उपकुलपति छनोट गर्न सर्च कमिटी गठन गरेका थिए । कमिटीमा सम्बन्धित विश्वविद्यालयका सभासदस्यसमेत रहने व्यवस्था छ ।
गत भदौ पहिलो साता यी विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको थियो । राजनीतिक भागबन्डाले विश्वविद्यालयमा बेतिथि भएको भन्दै सक्षम व्यक्तिलाई उपकुलपति नियुक्त गर्नुपर्ने सुझाव सरोरकावालाले दिइरहेका छन् । सँगै रिक्त भएको त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भए पनि अन्य विश्वविद्यालयमा सिफारिससमेत भएको छैन ।
त्रिविमा प्रा।डा। धर्मकान्त बाँस्कोटा उपकुलपति नियुक्त भइसकेका छन् । नयाँ उपकुलपति नियुक्त नभएपछि दैनिक काम चलाउन जिम्मेवारी तोकिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।
उपकुलपतिका लागि रोस्टर तयार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयको उपकुलपति तथा केही विश्वविद्यालयका सेवा आयोग अध्यक्षका लागि व्यक्तिगत विवरण मागेर रोस्टर तयार गरेको छ । गत असोजमा सार्वजनिक सूचना गरी विश्वविद्यालयका उपकुलपतिका लागि योग्यता पुगेका व्यक्तिहरूबाट व्यक्तिगत विवरण माग गरेको हो । स्रोतका अनुसार करिब तीन सयजनाले उपकुलपतिका लागि व्यक्तिगत विवरण पेस गरेका छन् । उपकुलपतिका लागि योग्यता पुगेका करिब डेढ सयजना प्राध्यापक, डाक्टरको नाम मन्त्रालयले सूचीकृत गरेको छ ।
उपकुलपतिविहीन विश्वविद्यालय
अहिले अधिकांश विश्वविद्यालय उपकुलपतिविहीन छन् । ७ भदौ ०७२ मा नियुक्ति पाएका विश्वविद्यालयका उपकुलपतिको कार्यकाल गत भदौ पहिलो साता सकिएको थियो । समय सकिएपछि कुलपति तथा प्रधानमन्त्री ओलीले बढीमा तीन महिनाका लागि दैनिक काम सञ्चालन गर्न उपकुलपतिको जिम्मेवारी तोकेको समय पनि सकिएको छ ।
समयमै उपकुलपति नियुक्त नहुँदा दैनिक प्रशासन मात्र सञ्चालन भएका छन् । विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठन भएको सर्च कमिटीले नाम सिफारिस गर्न नसक्दा अधिकांश विश्वविद्यालय कामचलाउ भएका छन् । विश्वविद्यालयबाट नीति योजना बनाउने काम गर्ने भन्दा पनि दैनिक प्रशासन चलाउने मात्र काम भएको छ ।
नयाँ पत्रिकामा खबर छ ।