सशस्त्रको परिचयपत्र देखि स्मार्ट लाइसेन्स समेत नक्कली,प्रहरीले गर्यो बरामत
नक्कली सवारीचालक अनुमतिपत्र लाइसेन्स निवारण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ मात्र होइन, सशस्त्र प्रहरीको परिचयपत्रसमेत नक्कली बन्ने गरेको खुलेको छ । न्युरोडस्थित स्थापित फोटो स्टुडियो फोटो कन्सर्न प्रालिबाट नक्कली स्मार्ट लाइसेन्स र सशस्त्र प्रहरीको नक्कली परिचयपत्र बरामद भएपछि यो तथ्य बाहिरिएको हो ।
प्रहरीले कन्सर्नबाट फोटोग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्त गुरुङ, मार्केटिङ अफिसर अशोक कार्की, क्यासियर मोहन यादवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कन्सर्नमा छापा मार्दा लक्ष्मण झाँक्रीको नाममा बनेको स्मार्ट लाइसेन्स, झाँक्रीकै नाममा बनेको सशस्त्र प्रहरीको परिचयपत्र बरामद भएको छ । प्रहरीले बल्खुस्थित आशिष फोटो स्टुडियोका सञ्चालक सुवास भनिने बुद्धिबहादुर रोका र नक्कली लाइसेन्स लिने दीपक ब्लोनलाई पनि पक्राउ गरेको छ ।
अनुसन्धानमा संलग्न महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार कन्सर्नबाट नक्कली स्मार्ट कार्ड बनाउने मेसिन, परिचयपत्र छाप्ने प्रिन्टर, कार्ड काट्ने कटर, लाइसेन्स डिजाइन गर्न प्रयोग गरिएको हार्ड ड्राइभलगायतका सामग्रीसमेत बरामद भएको छ । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले कन्सर्नले नक्कली लाइसेन्स तथा सशस्त्र प्रहरीको नक्कली परिचयपत्र बनाउने गरेको पुष्टि भएको बताए । उनले भने,‘फोटो कन्सर्नमा हामीले छापा मार्यौँ । त्यहाँबाट नक्कली स्मार्ट कार्ड, सशस्त्र प्रहरीको नक्कली परिचयपत्र, कार्ड छाप्न प्रयोग हुने प्रिन्टर, कटरलगायतका सामग्री फेला पर्यो ।’
प्रहरीका अनुसार कन्सर्नले यसअघि पनि थुप्रै नक्कली स्मार्ट कार्ड तथा सरकारी कार्यालयको नक्कली परिचयपत्र बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महाशाखाका डिएसपी दुर्गा दाहालले कन्सर्नबाट अवैध गतिविधि पहिलेदेखि नै हुँदै आएको अनुसन्धानबाट देखिएको बताए ।
याँ पत्रिकामा खबर छ ।