सत्तापक्षमै सभामुख हुने व्यक्ति छन् : मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन्।
कञ्चनपुरको भीमदत्तनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्य दललाई उक्त पद नदिने संकेत गरे। ‘सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्’, मन्त्री बाँस्कोटाले भने, ‘सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ।’
उनले सभामुखको विषय चाँडै टुंगो लाग्ने जानकारीसमेत दिए। त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका-२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बाँस्कोटाले बताए।
विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए ।