सुदूपश्चिममा आज १५ किसिमका परिकार सहित ‘ठुलीरात’ मनाइँदै
आज पुस १५, सुदूरपश्चिममा आज ‘ठुलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा-मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए ।
उनले भने, “रातभरि दन्त्यकथा, कहानी (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ ।”
‘पन्नरी रात’का रूपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका परिकार खाने गरिन्छ । तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ ।
तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै ‘कुन्क्यौलो’ (वनभोज) खाने गरिन्छ । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पण्डित पन्तको भनाइ छ ।
एक दिन भए पनि आज घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मिठामिठा खानेकुरा खाने चलन रहिआएको छ ।
पर्वमा विवाहिता छोरीबेटीलाई पनि घरमा आमन्त्रण गरी भव्यरूपमा स्वागत सत्कार गर्ने गरिन्छ । विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ ।
डिसेम्बर २२ तारिखलाई विश्वभरि नै सबैभन्दा छोटो दिन भनिए पनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ ।
आजदेखि दिनहरु विस्तारै लम्बिँदै जाने र असार १५ लाई वर्षकै ठूलो दिन मानिन्छ । भारतमा पुस १५ लाई लोहरी पर्वका रूपमा मनाइने गरिएको छ ।