Logo
३ मंसिर २०८१, सोमबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशको संसदीय टोली र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता

नेपाल भ्रमणमा रहेको बंगलादेशको संसदीय टोलीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता भएको छ ।

बंगलादेश संसदको दलित र अल्पसंख्यक आदीवासीसँग सरोकार राख्ने समितिका सभापति मनोरञ्जन शिल गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित कार्यकक्षमा भेट गरेको हो ।

नेपालको संसदीय अभ्यास तथा दलित, आदिवासी र अल्पसंख्यकको प्रतिनिधित्व तथा अधिकार बारे अध्ययन गर्ने उद्देश्यले सो प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दलित, आदिवासी तथा अल्पसंख्यक बारे नेपालको संविधानले विशेष अधिकार प्रदान गरेको उल्लेख गर्नुभयो ।

उनले संघ, प्रदेश र स्थानीय तहसम्म सो समुहको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराए ।‘नेपालको संविधानले जात, धर्म, भाषा, पेशा, वर्ग, शारिरिक अवस्थाको आधारमा भेदभाव नगरिने कुरालाई सुनिश्चित गरेको छ,’ उनले भने, ‘संघीय संसदले पनि यस सम्बन्धि मौलिक तथा अन्य थुप्रै कानुन निर्माण गरिसकेको छ ।’

अध्यक्ष तिमिल्सिानले नेपाल र बंगलादेशबीच थुप्रै समनाता रहेको बताउँदै यो भ्रमणबाट नेपालको जीवनशैली, विकास, दलित तथा आदिवासीको अवस्था र अधिकार बारे जानकारी लिन आग्रह गरे ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दुई देश बीच शिक्षा, स्वास्थ्य, व्यापार, उर्जा, कृषि लगायतका क्षेत्रको सहकार्यलाई अझै बढाउनु पर्नेमा जोड दिए ।

‘हामीबीच अन्तर्राष्ट्रिय रुपमा पनि थुप्रै क्षेत्रमा समान धारणा रहँदै आएको छ,’ उनले भने, ‘यो सहकार्य र सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउँदै जानुपर्छ ।’

उनले भ्रमण दलमार्फत नेपाल भ्रमण वर्ष २०२० मा बंगलादेशका नागरिकलाई नेपाल भ्रमण गर्न निम्ता गरे ।

बंगलादेशको प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै सभापति मनोरञ्जन शिल गोपालले नेपालले दलित र आदिवासीका अधिकार बारे गरेको कानुनी व्यवस्था प्रशंसायोग्य रहेको बताए ।

उनले बंगलादेश सरकार दलित, अल्पसंख्यक तथा पिछडिएका वर्गको अधिकार र जीवनस्तर सुधारका लागि लागिपरेको जानकारी गराए ।

उनले भने, ‘नेपालको संविधानमा केन्द्रदेखि स्थानीय तहसम्म सो समुदायका लागि दिएको अधिकारबाट बंगलादेशले सिक्दै कानुनी रुपमै सुधार गर्नेछ ।’

सभापति शिल गोपालले नेपाल र बंगलादेशबीच व्यापार, उर्जा, शिक्षा र पर्यटन क्षेत्रको सहकार्य बढाउनुपर्ने धारणा राखे ।

त्यसैगरी उनले नेपालको संसदको तर्फबाट अध्यक्ष तिमिल्सिनालाई बंगलादेश भ्रमणका लागि आग्रह समेत गरे ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्