Logo
१९ पुस २०८१, शुक्रबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुमति बिनै नेपाली भूमिमा भारतले चलायो एक्स्काभेटर,धमाधम संरचना निर्माण गर्दै

चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ ।

पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो ।

व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ । महाकाली नदी नै प्रभावित हुने गरी भीर कटान गरेर सडक बनाउने कामलाई पनि तीव्र पारेको छ ।

 

०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनुका साथै नेपाली भूमिमा एक्स्काभेटर चलाएको थियो ।

चिसोका कारण यतिबेला व्यास गाउँपालिका–२ दुम्लिङभन्दा माथिको क्षेत्रमा बसोबास छैन । व्यासको छाङरुसम्मै आवतजावत गर्दै आएका नेपाली हिमपातपछि तल्लो भेगमा झरिसकेका छन् ।

जाडो बढेकाले त्यस क्षेत्रमा बसोबास गर्ने सबै तल भेगमा झरेको दुम्लिङका स्थानीय जीवनसिंह बुढाथोकीले बताए । दुई वर्षअघि पनि यस्तै मौकामा भारतले नेपालको उक्त क्षेत्रमा काठेपुल निर्माण गरेको थियो । अहिले पनि स्थानीय तल झरेको र हिमपात भएको मौका छोपेर उनीहरूले काठेपुल बनाएका हुन् ।

 

अहिले त्यहाँ नेपालको सुरक्षा उपस्थिति पनि छैन । व्यासमा सुरक्षा दिइरहेको नेपाल प्रहरी चिसो सहन नसकेर दुम्लिङ झरेको एक महिना पनि पुगेको छैन । प्रहरी मंसिर तेस्रो साता दुम्लिङसम्म गएको थियो । त्यसपछि माथिल्लो क्षेत्रमा बाटो नहुँदा जान नसकिएको अस्थायी प्रहरी चौकी दुम्लिङका इन्चार्ज अमरसिंह कार्कीले बताए ।कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्