रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविरमा १२सयले लिए सेवा
रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका एक हजार २०० बढीले सेवा लिएका छन् ।
रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा एक हजार २०० जनाको सामान्य परीक्षण गरिएको थियो । पाँच सय बढीलाई औषधि वितरण गरिएको शिविरमा १२३ को रक्तचाप परीक्षण, ३८५ को इसिजी र ५२१ को इको परीक्षण गरिएको थियो ।
शिविरमा आएका मुटुरोगका २७ जटिल बिरामीलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा सिफारिस गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । सिफारिस गरिएका बिरामी र तीनका एक सहयोगीलाई यातायात खर्चसहित निःशुल्क शल्यक्रियाको व्यवस्था आयोजकले व्यहोर्ने भएको छ ।
जिल्लामा पहिलोपटक सञ्चालन भएको यस प्रकारको शिविरले मुटुरोगी लाभान्वित भएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए ।
“मुटुसम्बन्धी समस्या भोगिरहेका व्यक्तिहरु यसबाट बढी लाभान्वित भएका छन्”, प्रमुख केसीले भने । गरीबीका कारण मुटुरोगको उपचार गराउन नसकेकाहरुलाई शिविरले राहत दिएको नगरप्रमुख केसीको भनाइ छ ।
मुटुरोग विशेषज्ञसहित आएको डेढ दर्जन चिकित्सकको टोलीले उक्त शिविर सम्पन्न गरेको हो । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडाँैको प्राविधिक सहयोग तथा सम्मान फाउण्डेशनको आयोजनामा भएको उक्त शिविरमा जयन्ती फाउण्डेशनको विशेष सहयोग रहेको थियो ।