धनकुटाको निरौला डाँडाबाट ठूलो परिमाणमा अवैध काठ बरामद
धनकुटा : धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका-४ तेलियास्थित निरौला डाँडाबाट ठूलो परिमाणमा अवैध काठ बरामद भएको छ ।
स्थानीय व्यापारी नारायण गिरीको संलग्नतामा उक्त क्षेत्रमा काठ तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको वन कर्मचारीसहित स्थानीय बासिन्दाहरूको टोलीले उक्त काठ बरामद गरेको हो।
टोलीले उक्त स्थानबाट सरकारी ऐलानी जग्गामा ४३ ओटा खोटेसल्ला जातका रूखहरू कटान गरी ढुवानी गर्न लागेका २ सय ५ थान गोलिया काठहरू बरामद गरेको निशानदेवी सबडिभिजन वन कार्यालय धनकुटाका प्रमुख रामबाबु यादवले बताए ।
सो काठ नापजाँच गर्दा १ हजार १ सय क्यु फिटभन्दा बढी हुन आउँछ । बरामद गरिएको उक्त काठ सरकारी नियन्त्रण र स्थानीय बासिन्दाहरूको संरक्षणमा राखिएको र तत्कालै निर्णय गरी उचित व्यवस्थापन गरिने र दोषीमाथि छानविन गरी आवश्यक कारबाही गरिने उनले बताए ।
त्यस्तैगरी सोही जग्गासँग सिमाना जोडिएको डिभिजन वन कार्यालय धनकुटाको जग्गा र रातमाटे डाँडा सामुदायिक वनसँग जोडिएको ऐलानी जग्गामा समेत हालसालै रुखहरु कटान गरी बिक्री गरेको पाइएको छ ।
वन कार्यालयको जग्गामा अनुमती नै नलिई गिरीकै संलग्नतामा ती रुखहरु काटिएको स्थानीय बासिन्दाहरु बताउँछन, । यसबारेमा जिज्ञासा राख्दा सब डिभिजन प्रमुख यादवले भने पहिले सो जग्गा व्यक्तिका नाममा रहेको र हाल आएर कोशी करिडोरले खरिद गरी वन कार्यालयलाई जिम्मा दिएको हुँदा जग्गाधनीले पहिले नै ती रूख बेचेको हुनसक्ने बताएका छन, ।
तेलिया र आसपासका वन क्षेत्रहरुमा वर्षौं अघिदेखि नै यस्ता अवैध क्रियाकलाप हुँदै आएको भए पनि दोषीलाई सामान्य सोधपुछ र मिलेमतोमा मुद्दा टुङ्याइने प्रचलनले गर्दा समस्याले विकराल रुप लिँदै आएको स्थानीय बासिन्दा योगेन्द्रप्रसाद घिमिरे बताउँछन् ।
आफूहरु वनको उपभोक्ता र संरक्षकसमेत भएकाले दोषीमाथी कारबाही गरी यस्ता अवैध कार्यहरुलाई रोक्न वन कार्यालयलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको स्थानीय भन्ज्याङ डाँडा सामुदायिक वनका अध्यक्ष सोमबहादुर लिम्बूले बताए ।
तस्करीमा संलग्न नारायण गिरीले भने आफूलाई अरूले नै प्रयोग गरेर फसाएको बताएका छन्।