जिल्ला अस्पताल एम्बुलेन्सविहीन, सरकारलाई एम्बुलेन्सका लागि आग्रह
जाजरकोट : जिल्ला अस्पताल जाजरकोट छ महिनादेखि एम्बुलेन्सविहीन छ । दैनिक बिरामीको घुइँचो लाग्ने जिल्ला अस्पतालमा एम्बुलेन्स नहुँदा जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बिरामीहरुका लागि सास्ती हुँदै आएको छ । छ महिनाअघि एम्बुलेन्समा खरावी आएपछि मर्मतका लागि नेपालगञ्ज पठाए पनि रकम अभावले मर्मत नभएको बताइएको छ ।
पटक-पटक प्रदेश सरकारलाई एम्बुलेन्सका लागि आग्रह गर्दा पनि हुन्छ भन्ने जानकारी पाएको तर काम नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेत बताउँछन् । त्यस्तै, दरबन्दीअनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।
करारमा कार्यरत चिकित्सकको भरमा स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । जिल्ला अस्पतालमा एम्बुलेन्स नभए पनि स्थानीय सरकारले एम्बुलेन्स सेवा प्रभावकारी रुपमा चलाएका छन् । शिवालय गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा छ । कानुन निर्माण गरी एम्बुलेन्स सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए । शर्माका अनुसार गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीलाई निःशुल्क सेवा दिँदै आएको छ ।
त्यस्तै, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, गरिबलाई ८० प्रतिशत छुटमा एम्बुलेन्स सेवा दिँदै आएको छ । प्रकृतिक प्रकोपमा परेका स्थानीयलाई समेत निःशुल्क सेवा दिँदै आएको प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । अन्य बिरामीलाई गाउँपालिकाभित्र ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यता नलगाड नगरपालिकाले पनि एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको छ ।