विश्वमै हचचल मच्चाएको विमान घटनाको २० वर्ष : तर अपहरणबारे अझै पत्ता लागेन
ठीक २० वर्षअघि ९ पुस ०५६, काठमाडौंमा अन्य दिनभन्दा चिसो बढेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू तोकिएको समयमा हुन सकेका थिएनन् ।
इन्डियन एयरलाइन्सको आइसी–८१४ विमानको काठमाडौं–दिल्ली उडान समय दिउँसो २ बजेको थियो । तर, ४ बजे मात्र उडान भयो । त्यस दिन काठमाडौंको मौसम मात्र होइन, विमानस्थलको सुरक्षा व्यवस्था पनि खराब थियो ।
विभिन्न देशका एक सय ७६ यात्रु बोकेको यो विमान काठमाडौंबाट उडेको केही मिनेटमै हाइज्याकरको कब्जामा पुग्यो ।यो घटनाले विश्वमै ठूलो हचचल मच्चायो । नेपालको सुरक्षा व्यवस्थाको चर्को आलोचना पनि भयो ।
सरकारले विभिन्न छानबिन समिति गठन गर्यो । तर, २० वर्ष बित्दा पनि अपहरणकारीले कसरी विमान अपहरण गरे भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बुधबार यो घटनाको ठीक २० वर्ष पुगेको छ ।नयाँ पत्रिकामा खबर छ ।
घटनापछि सरकारले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंहको अध्यक्षतामा छानबिन समिति बनाएको थियो । समितिले त्यतिवेला विमानस्थलमा खटिएका प्रहरी, कर्मचारीलगायतसँग सोधपुछ गरेको थियो ।
‘तर, विमानसम्म हतियार लैजान अपहरणकारी कसरी सफल भए भन्ने कुरा पत्ता लाग्न सकेन, अहिलेसम्म रहस्यमै छ,’ त्यतिबेला नागरिक उड्डयन प्राधिकरणको सुरक्षा महाशाखामा कार्यरत भरत ढकालले भने । प्राधिकरणको निर्देशक भएर ढकालले अवकाश पाइसकेका छन् ।
विमान अपहरणका लागि हर्कत उल मुजाहिद्दीनले दुई महिनाअघि नै आफ्ना सदस्यहरूलाई काठमाडौं पठाएको थियो । तर, उनीहरूले कसरी विमानसम्म हतियार पु¥याएर अपहरण सफल बनाए भन्ने खुल्न सकेन । छानबिनको क्रममा विमानस्थलमा कार्यरत कुनै कर्मचारी र सुरक्षाकर्मीेले उनीहरूलाई सघाएको देखिएन ।
त्यतिबेला विमानस्थल प्रहरी प्रमुखमा कार्यरत एसपी विनोद सिंह विमान अपहरणमा नेपाली अधिकारीहरूको कुनै गल्ती नभएको दाबी गर्छन् । ‘अपहरणकारीले कसरी हतियार छिराए भन्ने पत्ता लागेन,’ एआईजीबाट अवकाश पाइसकेका सिंहले भने, ‘विमानमा देखाएको पेस्तोल नक्कली पनि हुनसक्छ, चक्कु भनेर झुक्याएर लगेको पनि हुनसक्छ ।’
भूपालमान बागबजारमा होटल चलाउँथे । त्यही अपहरणकारीसँग उनको भेट भएको थियो । डेरा खोजिदिन आग्रह गरेपछि उनले सघाएका थिए । पछि राम्रो कमाई हुने भन्दै उनीहरूले दिल्ली गरेका थिए । जेलबाट छुटेपछि नेपाल आएका भूपालमान काठमाडौंमा मजदुरी गर्छन् ।
अमेरिकालाई अझै अविश्वास
नेपाली विमानस्थलको सुरक्षा व्यवस्थाप्रति अमेरिकी अधिकारी अझै अविश्वास व्यक्त गर्दै आएका छन् । गत महिना प्रकाशित ‘कन्ट्री रिपोर्ट’मा काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीले ट्रान्जिटका रूपमा प्रयोग गरेको र गर्न सक्ने उल्लेख छ ।
नेपाल लगायत केही देशको विमानस्थललाई आतंकवादी समुहले दुरूपयोग गर्न सक्ने भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सुरक्षा अधिकारीलाई जानकारी समेत गराइसकेको स्रोत बताउँछ । अमेरिकी सूचनाकै आधारमा प्रहरीले एक महिनायता विमानस्थलमा विदेशीमाथि थप निगरानी बढाएको छ ।