निस्दी गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाको निस्दी गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता अभियानलाई तीव्रता दिएको छ ।
नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पाका निस्दी गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता गर्न टोल अभियान शुरु गरेको हो ।
निस्दी गाउँपालिका-४ स्थित मित्याल स्वास्थ्य चौकीले गाउँपालिकामा नै पहिलो पटक पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु गरेको छ । विसं २०७३ देखि हालसम्म निस्दी-४ को मौलाथर वा साबिक मित्याल गाविस-५ को मौलाथरमा शत्प्रतिशत संस्थागत सुत्केरी भइसकेकाले मौलाथर टोलबाट अभियान शुरु गरिएको मित्याल स्वास्थ्य चौकीका प्रमुख पुरबहादुर सारुले बताए ।
गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले गाउँपालिकामा सुनिश्चितता नै गर्नु आवश्यक रहेको बताउँदै टोेलमा मात्र नभई वडा हुँदै सिङ्गो गाउँपालिकालाई घोषणा गर्नुपर्ने बताए ।
स्वास्थ्य संयोजक रेमबहादुर दिशाले अन्य गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेको हुनाले यस गाउँपालिकामा पनि छिटोभन्दा छिटो पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न जोड दिइएको बताए । पूर्ण संस्थागत सुत्केरी घोषणाका लागि ९५ प्रतिशतभन्दा बढी संस्थागत सुत्केरी र ९५ प्रतिशतभन्दा बढी गर्भवती परीक्षण हुनुपर्नेछ ।
पाल्पाका पूर्वखोला र बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् भने अन्य स्थानीय तहले पनि सुत्केरी घोषणा गर्ने तयारीमा जुटेका छन् ।
प्रवासी नेपालीको सहयोग
रामपुर नगरपालिका-७ का भगवती पाठकको परिवारलाई प्रवासी नेपालीबाट सहयोग प्राप्त भएको छ । शारीरिक रुपमा अशक्त रहेका पाठक परिवारका तीन सदस्यको उपचार तथा लालनपालनका लागि प्रवासी नेपालीबाट रु दुई लाख एक हजार बराबरको रकम सहयोग प्राप्त भएको हो ।
वैदेशिक रोजगारका निम्ति युएईमा कार्यरत नेपालीबाट सङ्कलित रु दुई लाख एक हजार रकम रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आइतबार पाठक परिवारलाई हस्तान्तरण गरे ।
सो अवसरमा नगरप्रमुख थापाले विदेशमा रहेर पनि दुःखमा रहेको पाठक परिवारका लागि गरेको सहयोगको धन्यवाद दिँदै औषधि उपचार तथा लालनपालनमा खर्च गर्न अनुरोध गरे ।
युएईस्थित कालीगण्डकी बहुउद्देश्यीय सेवा समाजका अध्यक्ष भुपराज खनालले आफ्नो व्यक्तिगत तर्फबाट पठाउनु भएको रु २३ हजार रकम उनका बुबा लोकनाथ खनालले पाठक परिवारलाई हस्तान्तरण गरेका छन् ।
भगवती पाठकका श्रीमान् पन्ध्र वर्षदेखि दुवै आँखा नदेख्ने, ३५ वर्षका जेठो छोरो दुई तला माथिबाट खसेर दुई वर्षदेखि अपाङ्ता भएर बस्नुपर्ने र २९ वर्षका माइला छोरा जन्मेदेखि नै पूर्ण रुपमा शारीरिक अशक्त छन् ।
उनले तीनजना अपाङ्ता परिवारको सदस्यको एक्लै हेरचाह, लालनपालन गर्दै आएकी छिन् । उनको परिवारको अवस्था देखेर औषधि उपचार तथा लालनपालनमा सहज होस् भनी थोरै भए पनि वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकबाट रकम उठाएर सहयोग गरेको केशव रेग्मीले बताए ।
सो रकम रेग्मी र लक्ष्मण ढकालको नेतृत्वमा सङ्कलित गरी पाठक परिवारमा पठाइएको हो । आफूले पाएको दुःखपीडालाई मलम लगाउन देश तथा विदेशमा रहेका नेपाली नागरिकले गरेको सहयोगप्रति भगवती पाठकले धन्यवाद दिईन । सो रकम श्रीमान् र दुई छोराको उपचार, लालनपालनमा खर्च गर्ने पनि उनले बताईन।
यसैगरी पाठक परिवारलाई रामपुर नगरपालिकाका प्रमुख थापाले यसभन्दा अघि नै एक महिनाको आफ्नो तलब र अन्य रकम गरेर रु ५५ हजार रकम सहयोग गरेका थिए । त्यस्तै पाठक परिवारलाई ‘वी लभ पिपुल’ नामक संस्थामार्फत रु ३० हजार, नारायणघाटमा बसोबास गर्ने दुई व्यक्तिबाट रु दश हजार, जन्मदिनको फजुल खर्च कटाएर एक व्यक्तिबाट रु छ हजार, कोरियामा कार्यरत पाठकका आफन्तबाट रु २६ हजार रकम सहयोग जुटेको पाठक परिवारले जनाएको छ ।