पतिले छाडेर हिँडेपछि १५ दिने सुत्केरीको बिचल्ली
मुसिकोट नगरपालिका–५ की २२ वर्षीया विपना सावत १५ दिने सुत्केरी हुन् । प्रेम–सम्बन्धपछि गत फागुनमा गुल्मीकै राजु बस्नेतसँग भागेर विवाह गरेकी उनी अहिले पतिले छाडेर हिँडेपछि बिचल्ली बनेकी छिन् ।
पति बेपत्ता छन् । सडकमा ज्याला–मजदुरी गर्दागर्दै गत २३ मंसिरमा उनले छोरी जन्माइन् । बडिगाड खोलाको चिसो सिरेटोले १५ दिने शिशुसँगै विपना पनि थला पर्दै गएकी छिन् ।
घरले नहेरेपछि र माइती विपन्न अवस्थाको भएकाले स्थानीय शिव सुनारको घरमा एउटा कोठा लिएर उनलाई राखिएको छ । छिमेकी महिलाले खानेकुराको सहयोग गरिरहेका छन् । सुत्केरीको दयनीय अवस्था हेर्न नसकेपछि आफूहरूले सहयोग जुटाएर केही खाद्यान्न संकलन गरेको इन्द्रेगौडाकी गीता खरालले बताइन् ।
विपना र राजु बस्नेतबीच अन्तर्जातीय विवाह भएको हो । गत वर्षको फागुनमा मदाने गाउँपालिका–६ का बस्नेतले विपनालाई उनकै घरबाट भगाएर बिहे गरेका थिए । उनीहरू घरबाट भागेर बुटवल गए ।
त्यतै कहिले होटेल त कहिले सडकमा ज्याला–मजदुरी गर्न थाले । जेठसम्म उनी पतिसँगै थिइन् । राजुले विपनालाई केही समय थापा थर भन्न लगाएर आफ्नो घर र मावलीमा समेत लगे । घरमा उनले परिवारलाई थापाकी छोरी भनेर परिचय गराए ।
तर, परिवारले हप्काएपछि उनी पुनः विपनालाई साथमै लिएर तम्घासदेखि बुटवलका विभिन्न स्थानमा ज्याला–मजदुरी गर्न थाले । वैशाखमा विपनाको गर्भ रह्यो ।
त्यसपछि राजुले श्रीमतीलाई हेला गर्न थाले । दुईबीच मनमुटाव बढ्न थाल्यो । झगडा भयो । उनले विभिन्न बहानामा श्रीमतीलाई कुटपिट गर्न थाले । विपनाले आफूलाई घरमा पठाइदिन अनुरोध गरिन् ।
तर, राजुले मानेनन् । ‘तँलाई गाउँ पठाउँदिनँ । दलित भन्ने थाहा पाएमा मेरो दाजुभाइले घर निकाला गर्छन्’ भन्दै आफूलाई घर पठाउन नमानेको विपनाको भनाइ छ ।
नयाँ पत्रिकामा खबर छ ।