पिपीएल क्रिकेट : विराटनगर टाइटन्स १८ रनले पराजित, चितवनको चौथो जितको यात्रा कायम
पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भयो ।
हारसँगै विराटनगरको भने अघिल्लो चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ । अघिल्लो दिनको खेलमा समेत काठमाडौँसँग पराजित भएको विराटनगरले जारी प्रतियोगितामा एक खेल मात्र जितेको छ ।
टस हारेर विराटनगरले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको चितवनले पूरै ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४६ रनको मध्यमस्तरको स्कोर खडा गरेको थियो । विजयीका लागि १४७ रनको लक्ष्य पछ्याउने क्रममा १९ ओभरमा सबै विकेट गुमाएर विराटनगरले १२८ रनमात्र जोड्यो ।
आठौँ क्रममा विराटनगरको इनिङ्स सम्हाल्न आउनुभएका लोकेस बमले ३६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रनको अर्धशतक प्रहार गर्नुभए पनि टोलीलाई जिताउन पर्याप्त रहन सकेन । पुनित मेहराले २६ बलमा २४ तथा नोमान खानले १६ बलमा १८ रन जोड्नुबाहेक विराटनगरका अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेनन् ।
चितवनका करण केसी र भुवन कार्कीले समान तीन/तीन, रोहन मुस्ताफाले दुई र सन्नी पटेलले एक विकेट लिनुभएको थियो । चितवनका आरिफ शेख अविजित रहँदै २३ बलमा ३९ तथा शुरुआती व्याट्सम्यान एवं टोलीका कप्तान पारस खड्काले ३८ बलमा ३५ रन जोड्नुभयो । सन्नी पटेल नटआउट आठ बलमा २७ तथा बाबर हायातले ३१ बलमा २५ रन जोडेका थिए ।
विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहमद जैद आलमले समान एक/एक विकेट लिनुभएको थियो । चितवन आठ अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहेको छ भने काठमाडौँ गोल्डेन वारियर्स बुटवल ब्लास्टर्सको समान चार अङ्क छ ।
विराटनगर, पोखरा पल्टन र एक्सपर्ट धनगढीको समान दुई/दुई अङ्क छ । आजको दोस्रो खेलमा बुटवल र धनगढीले स्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस १२ गते सञ्चालन हुने कार्यक्रम छ ।