चितवनमा चार लाख पर्यटक भित्र्याउने लक्ष्य, भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने
चितवन : प्रदेश नं. ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस १० (२६ डिसेम्बर) देखि शुरु हुने १८औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको हो ।
यस वर्ष चार दिन हात्ती महोत्सवको समय थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । जनवरी ३ तारिखमा सौराहामा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबाट भ्रमण वर्षको शुभारम्भ गरिने उनले बताए । हात्ती महोत्सवको समायवधि बढेपछि कार्यक्रमहरु पनि थप गरिएको उनले जानकारी दिए । यसअघिका वर्षमा हटाइएका टाँगा दौड, गाडा दौड, डुङ्गा दौड भ्रमण वर्षलाई लक्षित गरेर पुनः समावेश गरिएको छ ।
प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलले विशेष चासो राखेपछि हात्ती महोत्सवको समय थप गर्न सौराहाका व्यवसायी तयार भएका हुन् । मुख्यमन्त्री पौडेलले सौराहाका व्यवसायीसँग छलफल गरेर चितवनबाटै प्रदेशको भ्रमण वर्ष शुभारम्भ गर्न आग्रह गरेका थिए । उनले चितवनको सौराहालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गर्ने बताए ।
चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको सौराहामा वर्षेनी लाखौँ पर्यटक आउने गरेका छन् । पर्यटकहरु गैंडा, हात्तीलगायतका जनावरहरु र थारू संस्कृतिको अवलोकन गर्न सौराहा आउँछन् । क्रिसमसका समयमा विदेशी पर्यटक कम हुँदै जान्छन् । पर्व मनाउन उनीहरू आफ्नै देश फर्कन्छन् । “नेपाल आएका विदेशी पर्यटक पनि सौराहामै रमाउन् र स्वदेशी पर्यटकको चाप पनि बढोस् भनेर प्रत्यक वर्ष हात्ती महोत्सव गरिँदै आएको छ,” भट्टराईले भने ।
भ्रमण वर्ष लक्षित गरेर सौराहामा रात्रिकालीन जिप सफारी, फुड फेस्टिबललगायतका अन्य नयाँ कार्यक्रम पनि आयोजना गर्न लागिएको उनको भनाइ छ । चितवनमा भ्रमण वर्ष २०२० मा चार लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।