Logo
२ मंसिर २०८१, आईतबार
(December 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परीक्षामा फेल गराइदिने धम्की दिएर भारतको हरियाणामा २४ छात्रामाथि यौनशोषण

भारतको हरियाणा राज्यमा एउटा सरकारी विद्यालयमा छात्रामाथि यौन शोषण भएको घटना सार्वजनिक भएको छ। हरियाणाको हिसार जिल्लास्थित एउटा गाउँमा रहेको सरकारी विद्यालयमा २४ जना छात्रामाथि यौनशोषण भएको खुलेको भारतीय संचारमाध्यमले जनाएका छन्।

छात्रामाथि यौनशोषण गरेको आरोपमा प्रहरीले विद्यालयका ल्याब असिसटेन्ट, फिजिकल ट्रेनिङ इन्स्ट्रक्चरलाई पक्राउ गरी हिरासतमा राखेको नवभारत टाइम्सले उल्लेख गरेको छ। यौनशोषण गरेको आरोप लागेका कम्प्यूटर विषयका शिक्षक भने फरार छन्। सुनीता यादव नाम गरेकी एक बालसंरक्षण अधिकारीले ती छात्रामाथि भएको यौनशोषणबारे प्रहरीलाई बताएकी थिइन्।

उनका अनुसार विद्यालयमा तीनजना शिक्षकले गत अगस्टदेखि कक्षा ८ देखी १० सम्मका छात्राको यौनशोषण गरिरहेका थिए। यौनशोषणमा परेका बालिका र तिनका अभिभावकले विद्यालयका प्रधानाध्यापक र गाउँका मुखियालाई यसबारेमा भने पनि घटना लुकाउन खोजिएको खुलेको छ। ती महिला अधिकारीलाई २४ जना बालिकाले दुई दिनअघि लिखित रूपमा आफूहरू यौनशोषणमा परिरहेको जानकारी गराएका थिए।

ती शिक्षकहरूले घटनाबारे मुख खोले सजाय दिने र परीक्षामा समेत फेल गराइदिने धम्की दिएर यौनशोषण गरिरहेको बालिकाले बताएका छन्। पूरै विद्यालयमा सिसिटिभी जडान गरिए पनि कम्प्यूटर ल्याब, म्याथ, साइन्स ल्याब, वाथरुमको आसपासका क्षेत्रलाई सिसिटिभीले समेटेको थिएन।

प्रकाशित मिति: Dec 18, 2019

प्रतिक्रिया दिनुहोस्