महेन्द्रनगरमा बिस्फोट गराएको आरोपमा विप्लवका ३ पक्राउ, ब्याजमा लगानी हत्याको मुख्य कारण
प्रदेश २ स्थित धनुषामा प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् । दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् । ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी कार्कीले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी स्रोतका अनुसार मृतक राजेशले ब्याजमा रुपैयाँ पैसाको लगानी गर्ने गर्थे । जस मध्ये विप्लव समुहमा लागेका व्यक्तिहरुलाई समेत उनले लेनदेन गर्ने गरेका थिए ।
विप्लव समुहमा लागेको मानिसलाई दिएको रुपैयाँ असुली गर्नका लागि ताकेता गर्दै बढी नै दबाब दिएको हुन सक्ने तथा सोही रिसिवीका कारण बम उनको घरमा झुन्ड्याएको हुन सक्ने कोण बाट अनुसन्धान समेत थालिएको अनुसन्धानमा संलग्न ती प्रहरीले लोकान्तरलाई जानकारी दिएका छन्
‘अहिले सम्म प्राप्त भएको जानकारी अनुसार मृतक राजेशले ३० लाख रुपैयाँ भन्दा बढी जति ब्याजमा लगानी गरेका कुरा जानकारीमा आएको छ,’ ती प्रहरी स्रोतले भने, ‘पैसा लेनदेन नै हो वा अन्य कारण पनि हो भन्ने बारे समेत बिभिन्न कोणबाट अनुसन्धान थालिएको छ ।’
शुक्रवार राति भएको बम बिस्फोटनमा परेर इलाका अप्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल, स्थानीय नागरिक राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ भने अन्य ४ जना घाईते भएका छन् ।