पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो ।
दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार दुर्घटनामा परी बसका सहचालक मोरङ पथरी-१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक-१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का र उर्लावारी-३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् ।
त्यस्तै दुर्घटनामा परी दमक-१० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी-७ निवासी २२ वर्षीया माया घिमाल, दमक-१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् ।