सर्लाहीको हरिपूर्वा नगरपालिका-१ मा आजै मतगणना
सर्लाही : सर्लाहीको हरिपूर्वा नगरपालिका-१, मा नयाँ वडाध्यक्ष चयन गर्न मतदान भइरहेको छ ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्।
मतदान सकिएपछि शनिबार (आजै) साँझ ६ बजे सर्वपक्षीय बैठक राखेर मतगणनाबारे निर्णय हुने मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए।
सर्लाहीको पूर्वी-दक्षिण भेगमा पर्ने हरिपूर्वा नगरपालिका-१ मा जारी मतदान शान्तिपूर्ण रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए।
उपनिर्वाचनलाई मध्यनजर गर्दै हरिपूर्वामा सुरक्षा व्यवस्था कडा पारिएको छ। वडा कार्यालयस्थित मतदान केन्द्र आसपास ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।
स्थानीय वासिन्दाले बिहानैदेखि मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन्। हरिपूर्वा-१ मा एक हजार ३ सय ५६ जना मतदाता रहेका छन्। जारी मतदानमा १२ बजेसम्म ७ सय ३७ मत खसेको जनाइएको छ ।