नेपाल मेडिसिटीले रेडियोलोजीमा आर्टिफिसियल इन्टेलिजेन्स शुुरु गर्ने
ललितपुर : आगामी दशकमा आर्टिफिसियल इन्टेलिजेन्सले मानव जीवनको हरेक पक्षलाई परिवर्तन गर्ने देखिएको छ । र यसको सिधा असर चिकित्सा क्षेत्रमा स्पष्ट देखिने चिकित्सकविज्ञहरु बताउँछन् ।
रेडियोलोजी र मेडिकल इमेजिङको क्षेत्रमा एआईले ठूलो प्रगति गरेको छ । युएस एफडीएका धेरै अनुमोदनहरुका अनुुसार रोगको परिक्षण हुने तरिका तथा यसको निदानको तरिका परिमार्जित हुँदै आएको छ ।
मुलुकको एक अग्रणी तथा प्रगतिशील स्वास्थ्य अस्पताल नेपाल मेडिसिटी अस्पतालले संसारकै उत्कृष्ट इजरायली जेब्रा मेडिकल भिजनसँग साझेदारी गरेको छ जुन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको रेडियोलोजीका लागि संसारकै उत्कृष्ट मानिन्छ । यसबाट नेपालीहरुले स्वदैशमै उच्च गुणस्तरिय परिक्षण प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
नेपालबाट प्रत्येक वर्ष ३ देखि ४ लाख नेपाली नागरिकहरु स्वास्थ्य उपचारका लागि विदेश जाने गरेकाले नेपालबाट ठूलो धनराशि पनि विदेशिने गरेको छ । यसरी विदेशिने प्रमुख कारण भनेको सही परिक्षण र उपचार नै हो । स्वदेशमै सबै स्थानमा समान उपचार प्रदान नहुनु मुख्य समस्या हो ।
नेपाल मेडिसिटीको रेडियोलोजी तथा इमेजिङ केन्द्र वरिष्ठ रेडियोलोजिष्ट डा. राम कुमार घिमिरेको नेतृत्वमा रहेको छ । यस विभागमा आर्टिफिसियल इन्टेलिजेन्स सहितको थप सुरक्षीत र गुणस्तीय एवं विशिष्ट सेवा प्रदान गर्न अस्पताल तयार भएको जनाएको छ ।
मेडिसिटीले पहिलो चरणमा ईन्ट्राक्रेनियल हेमोरेज, अस्टियोपोरोसिस र हड्डीसम्बन्धि समस्याको रोकथामका लागि विशेष एल्गोरिथमहरू लागू गर्दैछ भने निकट भविष्यमा क्याल्सियम स्कोरिंगको साथ अपग्रेड गरीनेछ जसले हृदय रोग, एन्फाइसेमा र कलेजोमा असर सम्बन्धि समस्या पत्ता लगाउन सहयोग गर्नेछ ।
यस सेवा विस्तारसँगै स्वास्थ्य सेवालाई थप गुणस्तरिय बनाइ विश्व स्तरमा पुर्याउने आशा अस्पतालको छ ।