Logo
४ माघ २०८१, शुक्रबार
(November 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानी मुद्दा नेपालको दलहरुका लागि खतरा बन्न सक्छ : श्यामशरण

भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपाल र भारतबचिको सीमा समस्यालाई सहमतिबाट हल गर्नुको साटो राष्ट्रियताको रङ्ग दिन प्रयोग गर्न खोजे नेपालका राजनीतिक दलहरुका लागि खतरा बन्न सक्ने बताएका छन् । उनले नेपालका राजनीतिक दलहरुबीच दुई देशबीच सहमतिबाट हल गर्न लाग्नुपर्ने विषयभन्दा अन्यत्र मोडिएको भन्दै आलोचना समेत गरेका छन् ।

“मित्रवत् तरिकाले सहमतिबाट हल गर्नुपर्ने विषयलाई राष्ट्रियता रङ्ग दिएर उठाउन खोजे नेपालका राजनीतिक दलहरुलाई केही खतरा बन्न सक्छ”, नेपालका लागि राजदूत रहिसकेका श्यामशरणले इन्डियन एक्सप्रेसमा लेखेका छन् ।

हालैमात्र नेपाल आएर फर्किएका उनले नेपाल र भारतबीचको पृथक र विशेष खालको अभ्यास भइरहेको सीमाको विशिष्टता नै जोखिममा परेको औल्याएका छन् ।

सीमाको पृथक पहिचान र अभ्यासलाई नेपाल र भारत दुवैतर्फबाट जोखिममा पारिएको उनको भनाई छ । “दुनियाँभर नभएको पृथक भारत र नेपालबीचको सीमामा राजनीतिक सीमाले पनि प्राचीनकालदेखि सांस्कृतिक, धामिर्क र नातासम्बन्ध भएका जनताको आवतजावतलाई रोक्न दिइएको छैन,’ श्यामशरणले लेखेका छन्,”तर, नेपालको क्षेत्रीय राष्ट्रवाद र भारतमा बढ्दो सेक्युरिटी स्टेटका कारण यो जोखिममा परेको छ ।”

आफूले काठमाडौंमा रहँदा देखेरको र भोगेको विषय समेत उल्लेख गरी उनले काठमाडौं उपत्यकामा भारतविरुद्ध भावना जगाउन सजिलो हुनेगरेको उल्लेख गरेका छन् ।

भारतविरोधी भावना नेपालको आन्तरिक र बाह्य राजनीतिमा महत्वपूर्ण हुनेगरेको उनको भनाई छ । भारतले जम्मु कश्मिरको मामलामा नयाँ नक्शा जारी गरेकोमा नेपालका लागि कुनै लेनदेनको विषय नभएको श्यामशरणको तर्क छ ।

यसै विषयमा नेपालभित्र उठिरहेको विरोधतर्फ संकेत गर्दै उनले राजनीतिक दलहरुको भूमिकाको आलोचना गरेका छन् । नेपालले विदेशमन्त्रीस्तरीय छलफलमा यसलाई उठाउने नगरेको समेत श्यामशरणले लेखमा उल्लेख गरेका छन् ।

उनले सन् २००३ मा आफू राजदूत हुँदा विदेशमन्त्री स्तरमा सन्सन्धी पुनरवलोकनबारे छलफल चलाउने निर्णय भएकोमा कालापानी र सुस्ताको विषयलाई छलफलको विषयबाट हटाइएको खुलासा गरे ।

कालापानीलाई भारतले नयाँ नक्शामा समेटेर जारी गरेपछि नेपालमा सबै दलहरुबाट विरोध भइरहँदा भारतका कुटनीतिज्ञको पछिल्लो भनाई आएको हो । उनले नेपालका राजनीतिक दलहरुको चर्को आलोचना गर्दै चेतावनीको भाषा समेत प्रयोग गरेका छन् ।

प्रकाशित मिति: Nov 27, 2019

प्रतिक्रिया दिनुहोस्