Logo
२७ पुस २०८१, शनिबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति क्षेत्रमा बालाचतुर्दशीका दिन छरिएको शतवीज उठाउन शुरु

पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा छरिएको शतवीज उठाउन शुरु गरेको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशीका अवसरमा सोमबार बिहान पशुपति क्षेत्रका मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, वनकालीलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छरिएको थियो ।

हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा धानको सय गेडा छर्ने विधि भए पनि हाल मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छरिन्छ । पहिले जङ्गल हुने पशुपति क्षेत्रमा हाल पक्की संरचना बनेपछि शतबीज उम्रन पाउँदैन ।

पक्की संरचनामा शतबीजले नराम्रो देखिने भएकाले उठाउनु परेको कोषले जनाएको छ । पशुपति क्षेत्रमा निरन्तर आन्तरिक एवं बाह्य पर्यटक आउने भएकाले मुख्य मुख्य ठाउँमा छरिएको शतबीज उठाउन शुरु गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

आज मध्याह्नसम्म रुद्रगाडेश्वरसहित मूलमन्दिर क्षेत्रको शतबीज उठाइसकिएको छ । आजसम्ममा मुख्य मुख्य स्थानको उठाइसकिने कोषले जनाएको छ । पशुपति क्षेत्रभर छरिएका शतबीज उठाउन तीन दिन लाग्ने उहाँले सुनाउनुभयो । शतबीज उठाउन कोषको नेतृत्वमा नेपाली सेनाको कालीदल गण, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गणलगायत सामाजिक संस्थाको सहभागिता छ ।

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्