नलगाड को मुआब्जामा चलखेल, जापानी र चिनियाँ कम्पनीले देखाए चासो
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा निर्माणाधीन नलगाड जलविद्युत आयोजनामा भाँजो हाल्ने नियतका साथ गरिने गतिविधि सहृय नहुने उनले चेतावनी दिएका छन् ।
४ सय १७ मेगावाट क्षमताको निर्माणाधीन नलगाड जलविद्युत आयोजनामा सहयोग गर्न जिल्लाबासीलाई मन्त्री बस्नेतले अपिल गरेका छन् ।
आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्यांकन प्रतिवेदन (ईआईए)बारे छलफल गर्न राजधानीमा आयोजित सरोकारवाला सहभागी गोष्ठीमा मन्त्री बस्नेतले भने, ‘प्रभावित क्षेत्रका बासिन्दाहरुको जायज मागलाई संघ, प्रदेश र स्थानीय सरकार तयार छ र हुनुपर्छ, त्यसमा मेरो तर्फबाट सबै प्रयत्न हुनेछ, तर विकासका काममा अवरोध हुने गरी अनुचित फाइदा लिन खोज्ने प्रवृत्ति स्वीकार्य छैन ।’
सरकारलाई गुमराहमा राखेर मुआब्जा लिनका लागि बाहिरबाट गएर केही अवाञ्छित व्यक्तिले आयोजना प्रभावित क्षेत्रमा जग्गा गरिद गरेको सूचना आएको भन्दै मन्त्री बस्नेतले त्यसबारे छानबिन गरेर कारबाही हुने बताए । त्यसको प्रक्रिया अगाडि बढाउन उनले स्थानीय प्रशासनलाई निर्देशनसमेत दिए ।
निर्माण सुरु भएको ६ वर्षमा सम्पन्न हुने लक्ष्य राखिएको नलगाडका लागि जापानी र चिनियाँ कम्पनीले चासो राखेका छन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको तयारीमा छ ।
नलगाड जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका जायज आकांक्षा र गुनासा सम्बोधन गरिने मन्त्री बस्नेतले आश्वासन दिए ।