नेपालको नयाँ नक्शा सार्वजनिक, राष्ट्रसंघसम्म पुर्याइने
नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा तयार गरी सार्वजनिक गरेको हो ।
नक्शा तयार गरेको विधिबारे जानकारी दिदै अभियानका प्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए । उनले भने, डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं ।
यही विधिबाट रेखांकन गरिएको जानकारी समेत दिए । नक्शा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको बताए । सीमा बचाऊ अभियानको नक्शा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए ।
उनले नक्शा तयार पारिएको विधि समेत उल्लेख गरे । नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घर घरमा चर्चा हुनुपर्ने बताए ।
उनले भने, हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्शा सुगौली सन्धी अनुसारको भएको बताए । भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो ।
नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्शा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । उनले भने, हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरुै धन्यवाद छ ।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गन नक्सा सार्वजनिक गर्नुपर्नेमा गरिएकोमा खुशी व्यक्त गरे । उनले भने,भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक ।
पूर्व सचिव तथा अभियानकर्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्शा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए । नक्शा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिए । संयुक्तराष्ट्रसंघसम्म नक्शा पुर्याउनेबारे विचार गरिएको उनको भनाई थियो ।