गिटी-बालुवाको कर उठाउने विवादमा सामुहिक खुकुरी प्रहार
झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी-बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।
बुद्धशान्ति-५ टिमाई खोला नजिक मेचीनगर-९ र बुद्धशान्ति-५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति-५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन् ।
उनको बाँया हातमा चोट लागेको छ । मेचीनगर-९ का ३६ वर्षीय दीपक तामाङ र निखिल भन्ने सुरज तामाङलगायत ४/५ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
घाइते चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल विर्तामोड पठाइएको र खुकुरी प्रहारमा संलग्न मेचीनगर-९ का १७ वर्षीय सुमन सुन्दास, सोही स्थानका १७ वर्षीय अमस लिम्बू, १८ वर्षीय सञ्जु तामाङ, २२ वर्षीय हर्कराज राई, २० वर्षीय दिप्सन नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खुकुरी प्रहार गर्ने दीपक तामाङ र सुरज तामाङ हाल फरार रहेका छन् । उनीहरुको खोजी कार्य तीव्र बनाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।