Logo
१८ पुस २०८१, बिहीबार
(November 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हामी नक्सा सच्याउनु भन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं’

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रष्ट पार्नु भएको छ ।

काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको भेला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको वताउनु भयो ।

मुलुकको सीमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजूट भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीले वताउनु भयो । अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थनका लागि प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभयो ।

‘दशकौं अघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो देशभक्त सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिंदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

संसारसामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इन्च जमिन नमिच्ने र अरुलाई पनि आफ्नो जमिन मिच्न नदिने प्रधानमन्त्री ओलीको भनाई थियो । कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको वताउनु भयो ।

‘कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिनु भएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी नक्सा सच्याउनु भन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।’  दशकौं अघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर, अतिरिक्त देशभक्ती देखाउने नाममा उत्श्रृंखल गतिविधि गर्ने काम अनुचित रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ रहेको छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर, आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उत्श्रृंखल गतिविधि अनुचित छन् । हामी कुटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं ।’

प्रधानमन्त्री ओलीले संक्रमणकाल अन्त्य गरी कानुनी पूर्वाधार समेत बनाउन समय खर्च गरे पनि सरकारले विकासको नयाँ जग बसालेको वताउनु भयो ।

प्रकाशित मिति: Nov 17, 2019

प्रतिक्रिया दिनुहोस्