Logo
१८ पुस २०८१, बिहीबार
(November 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलम आतंक : आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे

आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमलाई पुर्पक्षका लागि जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका छन् ।

आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छाडेका छन् । आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणीन्द्रराज कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका छन् ।

अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए ।

अदालत स्रोतका अनुसार असुरक्षित महसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन् । ‘उहाँहरू अहिले बिदामा काठमाडौं जानुभएको छ,’ अदालतका एक अधिकारीले भने, ‘आदेश दिएपछि यहाँ बस्ने परिवेश छैन ।’

आफ्नै चुनाव प्रचारमा जुटेका र आलमका लागि बनिरहेको बम विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाउने व्यक्तिले जे पनि गर्न सक्ने भन्दै उनीहरूले सरुवा मागेको महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले बताए । मुद्दा नचलाउन न्यायाधिवक्ता कटवालमाथि र आलमलाई साधारण तारेखमा छाड्न न्यायाधीश ढकालमाथि दबाब परेको थियो ।

आलमको पक्षमा आदेश नआए जेसुकै हुन सक्ने सन्देश पनि उनीहरूले पठाएका थिए । आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका हुन् । स्रोतका अनुसार उनीहरूको सरुवाबारे छलफल अघि बढिसकेको छ ।

आलमलाई जिल्लामा राख्नसमेत जोखिम भएकाले नख्खु कारागार चलान गरिएको छ । उनलाई शुक्रबार राति नै ललितपुरतर्फ हिँडाइएको छ । गृह मन्त्रालयको आदेशमा उनलाई नख्खु पठाइएको हो । सुरक्षाको दृष्टिकोणले उनलाई त्यहाँ राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थानान्तरण गर्न सकिने व्यहोरा अदालतको आदेशमा उल्लेख छ । नयाँपत्रीकाबाट साभार

प्रकाशित मिति: Nov 16, 2019

प्रतिक्रिया दिनुहोस्