Logo
७ पुस २०८१, आईतबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानी-लिपुलेक सीमा विवादमा सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल-भारत सिमानाको नेपाली भूमि संरक्षणका विषयमा छुट्टाछुट्टै दायर गर्नुभएको रिट निवेदनमा सो आदेश जारी गरेको हो ।

दुवै रिट निवेदनलाई अग्राधिकार दिएर सुनुवाइ गर्ने र सीमा सुरक्षाका विषयमा भएका पहलका विषयमा १५ दिनभित्र लिखित जवाफ माग गरिएको छ ।

पाटन क्याम्पसका उपप्राध्यापक नेपाल र अधिवक्ता सुजित केसीले संयुक्त रुपमा नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्शामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा यही कात्तिक २७ गते रिट निवेदन दायर गरेका थिए ।

नेपालको संविधानमा “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्”, भनिएको भए पनि सो अनुसार सरकारले ध्यान नदिएको रिट निवेदनमा उल्लेख छ ।

उक्त रिट निवेदनमा वर्तमान प्रयोगमा आएको नेपालको नक्शामा लिम्पियाधुरा नभएको हुँदा सो नक्शालाई बदर गरी पश्चिमतर्फ लिम्पियाधुरासम्मको जमीनलाई समावेश गरिएको नक्शा बनाउन आदेशको माग गरिएको छ ।

रिट निवेदक नेपालले भने “नेपाल–भारतबीच भएको सुगौली सन्धिअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू-भाग भनी लेखिएको छ, उक्त भू-भाग अतिक्रमण सुगौली सन्धिविपरीत हो ।”

रिट निवेदनमा नेपालको भ–ूभाग एक लाख ४७ हजार १८१ वर्ग किमी छ । वर्तमान नक्शामा लिम्पियाधुराको जमीन नहुँदा क्षेत्रफलसमेत घटेको हुनसक्ने हुँदा नेपालको जमीनको रक्षा गर्न अन्तरिम आदेशको माग गरिएको छ ।

नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भू-भाग भारतबाट अतिक्रमण भइरहेकाले कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको बताइएको छ ।

नेपालको संविधानमा राष्ट्रियहित तथा राष्ट्रिय सुरक्षासम्बन्धी सार्वभौमसत्ता सम्पन्न जनताको हकअधिकार र राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्न भएको व्यवस्थाअनुसार सुरक्षा गर्न सो रिट निवेदनमा माग गरिएको छ ।

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्