आन्तरिक पर्यटकको रुपमा भ्रमण जाँदा निजामती कर्मचारीलाई थप सुविधा
धनुषा : प्रदेश २ मा कार्यरत निजामती कर्मचारीले अब आन्तरिक पर्यटकका रुपमा भ्रमणमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन् ।
आन्तरिक पर्यटन प्रवर्द्धन र कर्मचारीलाई प्रदेशमै कार्य गर्न थप ऊर्जा प्राप्त होस् भन्ने उद्देश्यले प्रदेश २ सरकारले यस्तो सुविधा उपलब्ध गराउने कानून ल्याउन लागेको हो ।
प्रदेश नं २ को आव २०७६/०७७ को राजस्व र व्ययको अनुमान बजेट वक्तव्यको बुँदा नं १२२ ले दिएको नीतिगत अधिकार प्रयोग गर्न प्रशासकीय कार्य्विधि (नियमित गर्ने) ऐन २०७५ को दफा नं २ बमोजिम प्रदेश सरकारले यो निर्दे्शिका बनाएको बताइएको छ ।
प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले प्रदेश २ मा कर्मचारीलाई आकर्षण एवं टिकाएर राख्ने उद्देश्यले प्रदेश सरकारले यस्तो सेवासुविधा प्रदान गर्न लागेको बताए ।
उनले प्रदेश २ मा प्रदेश सरकारले पर्यटन प्रवरद्धन र कर्मचारीलाई स्थायित्व राख्ने उद्देश्यले निर्देशिका बनाएको बताए ।
उनले देशभित्रको आन्तरिक पर्यटनभन्दा बढी आफ्नो प्रदेश २ भित्रकै पर्यटकीय गन्तव्य र ग्रामीण भेगको घुमफिर गरेर बुझ्ने, प्रचारप्रसार गर्ने र सोहीअनुसार काम गर्ने उद्देश्यले पनि यो निर्दे्शिका बनाइएको बताए ।
प्रदेश २ मा कर्मचारी बढी सरुवा भएर आउने जाने गर्छन् यसलाई स्थायित्व प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।